२७ जेठ २०८३, बुधबार
चुनावी ग्राउन्ड जिरो- जुम्ला

इतिहास लेख्न ज्ञानेन्द्रलाई कांग्रेस-एमालेको भर, कमजोर छैनन् तारा र रुख

फागुन १२, २०८२
जुम्ला
इतिहास लेख्न ज्ञानेन्द्रलाई कांग्रेस-एमालेको भर, कमजोर छैनन् तारा र रुख

बिहानको ८ बजे । जुम्ला सदरमुकाम खलंगा । साँझ बन्द गरिएका सटरहरू खुल्न थालेका छन् । मन्द घामको किरणमा यहाँका मानिस चिया चौतारीमा जम्न थालिसकेका छन् ।

बजारका हरेकजसो घरमा नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न रुख अंकित तुल, ब्यानर टाँगेको देखियो ।

आइतबार बिहान लोकान्तर टीम चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा रहेको कृष्ण मन्दिर परिसर पुग्दा मानिसहरू चुनावी गफगाफ गरिरहेका थिए ।

मन्दिर परिसर पुग्दा समेत माहोल उस्तै देखेपछि हामीले नजिकै भेटिएका एक मतदातालाई सोध्यौं- ‘यति धेरै झण्डा र प्रचार सामाग्री  रहेछ । भोट जति रुखमै आउँछ कि कसो ?’

२५ वर्षदेखि पसल गर्दै आएका ती मतदाताले तुरुन्त हामीलाई जवाफ फर्काए–‘घरमा मान्छे भए पो भोट आउनु!’

ती मतदाता थिए कनकासुन्दरी-२ का मोतिलाल रावत । संयोगले उनी नेपाली कांग्रेसकै भोटर रहेछन् । घरमा ३ भोट रहेको बताउने उनले तीन मत समानुपातिकमा र दुई मत प्रत्यक्षमा रुखमा जाने बताए ।

‘छोराको एक भोट हलोमा जान्छ जस्तो छ,’ उनले लोकान्तरसँगको संवादमा भने ।

null

हामी सुर्खेतबाट दैलेख, कालीकोट हुँदै जुम्ला पुगेका थियौं । कालीकोटभन्दा जुम्ला तुलनात्मक रूपमा बढी विकसित देखिन्छ । स्याउ खेतीका लागि प्रख्यात जिल्लामा यतिबेला स्याउको मौसम भने होइन । तर २१ फागुनको निर्वाचनमय मौसमले भने चिसो जुम्लालाई तताएको छ । 

मतदाताहरूको मन परिवर्तन गर्दै मत माग्न दलबलसहित उम्मेदवार घर-घर पुगिरहेका छन् । भौगोलिक रूपमा पनि अप्ठ्यारै जिल्लामा एक मात्र निर्वाचन क्षेत्र भएकाले पनि उम्मेदवारमा थप चुनौती थपिएको छ ।

null

हुँदैछ त्रिपक्षीय भिडन्त

१० उम्मेदवार चुनावी मैदानमा रहेको जुम्लामा चुनावी भिडन्त भने त्रिपक्षीय हुने मतदाताको आँकलन छ । निवर्तमान सांसद् ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही राप्रपा, नेपाली कांग्रेसका दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीबीच चुनावी भिडन्त हुने मतदाताहरूसँगको संवादबाट हामीले थाहा पायौं । 

हामीसँग संवादमा आएका दुई सय बढी मतदाताको पहिलो रोजाइमा तारा चुनाव चिह्न पर्‍यो । दोस्रोमा हलो तथा तेस्रोमा रुख चिह्न मतदाताको रोजाइमा पर्दा सूर्य चौंथो र घण्टी पाँचौंमा नम्बरमा पर्‍यो ।

कालीकोटलाई छाडेसँगै जुम्लाको तिला गाउँपालिका प्रवेश हुन्छ । शनिबार घाम छिप्पिनै लाग्दा पालिकाको वडा नम्बर १ मा भेटिए ७० वर्षीय धनवीर बुढासहितको करिब १० जनाको टोली । माछा मार्न जाने तयारीसहित जाल बुन्दै गरेका उनीहरू हामीसँग संवाद गर्न तयार भए । उनीहरूले कुरा नचपाईं प्रस्ट शब्दमा तारामा भोट हाल्ने बताए । ५० वर्षीय कालीबहादुर बुढा, ३५ वर्षीय पूर्णबहादुर बुढाले तारामा एकछापे भोट हाल्ने हामीसँग बताए ।

null

सोही पालिकाको वडा नम्बर ३ मा पर्ने त्रिवेणी बजारमा भेटिएका ५० वर्षीय दलबहादुर बुढाले आफूले एमाले छाडेर राप्रपामा भोट हाल्न लागेको हामीसँग बताए । उनले आफ्नो परिवारको ४ भोट हलोमा जाने स्पष्ट पारे ।

मत परिवर्तन गर्ने पक्षमा रहेका २७ वर्षीय विनोद नाथ योगीले भने राष्ट्रिय स्वतन्त्र पार्टीमा मत हाल्ने बताए । मंगलनाथ योगीले आफूसहित परिवारको पाँच भोट सूर्य चुनाव चिह्नमा जाने दाबी हामीसँग गरे ।

कांग्रेस बन्दैछ निर्णायक !

लोकान्तरसँग सम्पर्कमा आएका मतदाताले चुनाव कसले जित्छ भन्ने निर्णय कांग्रेसको मतभित्र लुकेको जानकारी दिए । हामी संवादका लागि पुगेका सबै वडाका मतदाताले आफूले मत हाल्ने विषयमा जानकारी गराउँदै जित हारको निर्णय कांग्रेसमा जाने मतले गर्छ भन्न कतै छुटाएनन् ।

चन्दननाथ नगरपालिकामा चिया पिउँदै गरेका ३ मतदाता भेटिए । आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने उनीहरूले अनौपचारिक संवादको क्रममा सुनाए–‘कांग्रेसले आफ्नो दलमा हाले (मत) ज्ञानेन्द्रलाई समस्या पर्छ । कांग्रेसले भोट खनाइदियो भने उनले चुनाव जित्छन्।’

यहाँका कांग्रेसीले बाहिर पार्टीको नाम जप्ने, कार्यक्रममा जाने र भोट भने हलोमा हाल्नेगरी तयारी गरिरहेको अर्का एक मतदाताले हामीसँग सुनाए ।

‘हेर्नुहोस् ऊ त्यो झण्डा भएको घरको (अलि पर्तिरको घरतर्फ देखाउँदै) मान्छे कांग्रेसको हो । तर, भोट चाहिँ हलोमा हाल्छ,’ ती मतदाताले हामीसँग सुनाए । 

null

तातोपानी गाउँपालिका वडा नम्बर ३ का मतदाता ४८ वर्षीय टीकादत्त रावल नेकपाको मतदाता रहेछन् । आफूले तारामा भोट हाल्ने भने पनि उनले कांग्रेसको मतले जित हारको निष्कर्ष निकाल्ने सुनाए । साथै उनले पनि प्रचार कांग्रेसको गर्दै हिँड्ने कार्यकर्ताले भोट भने हलोमा हाल्ने तयारी गरेको आफूले पनि सुनिरहेको बताए । 

‘कांग्रेसको मत नभएको होइन । तर, यहाँ अन्तर्घात गर्छन्,’ उनले सुनाए,‘प्रचार कांग्रेसको गर्छन् , भोट हलोमा हाल्छन् ।’ उनले हलोको संगठन नभएको भन्दै कांग्रेसकै मत चोरेर राप्रपाले चुनाव जित्नसक्ने उल्लेख गरे ।

अघिल्लो निर्वाचनमा कांग्रेसीले यहाँ आफ्नो रुख चिह्नमा मतदान गर्न पाएनन् । उनीहरूको अधिकांश मत हलो अर्थात् राप्रपामा गयो । यसपटक भने पार्टीबाट उम्मेदवार उठेका छन् । हिजो चिह्न परिवर्तन गर्न बानी लागेका मतदाताले यसपटक रुखमै भोट हाले कांग्रेसले चुनाव नै जित्न सक्ने आकलन मतदाताहरूको छ । 

इतिहास रच्न ज्ञानबहादुरलाई छैन सहज

२०७४ मा भएको निर्वाचन यहाँबाट माओवादी केन्द्रले जित्यो । त्यसबेला २२ हजार १७३ मत ल्याएर माओवादीका उम्मेदवार गजेन्द्रबहादुर महतले चुनाव जित्दा नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत ल्याएका थिए । त्यसबेला माओवादी-एमाले वाम गठबन्धन गरेर चुनाव होमिएका थिए । 

२०७९ को निर्वाचनमा भने माहोल फरक पर्‍यो । पाँच दलीय गठबन्धन गरेर नेकपा माओवादी केन्द्रले चुनाव लडे पनि सफलता हासिल गर्न सकेन । सामाजिक अभियन्ता बनेर आफूलाई स्थापित गरेका ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले राप्रपाबाट चुनाव जितेर देखाइदिए । कांग्रेस, माओवादी, नेकपा एस लगायत दलको साथ पाएर पनि माओवादी नेतृ गोमा गौतमले शाही भन्दा आधा मत मात्र प्राप्त गरिन् । ज्ञानेद्रले २२ हजार ८१९ मत ल्याएर शानदार जित निकाले । 

null

इतिहासलाई पल्टाएर हेर्दा जुम्लाबाट लगातार चुनाव कसैले जितेका छैनन् । यसपटक ज्ञानेन्द्रले इतिहास रच्छन् त ? यो प्रश्न हामीले मतदातासमक्ष राख्यौं । धेरै मतदाताले अवस्था सहज नभएको बताए ।

‘किनभने राप्रपाको यहाँ संगठनात्मक भोट छैन । उनले अरूकै मत चोर्ने हो र यसपटक सबै दलको उम्मेदवार भएकाले विगतमा जस्तो सहज नहोला’, सदरमुकाम खलंगामा होटल सञ्चालक गर्दै आएका एक जनाले नाम उल्लेख नगर्ने सर्तमा भने । 

तातोपानी गाउँपालिका वडा नम्बर ६ मा किराना पसल सञ्चालन गर्दै आएका एमाले मतदाताले पनि परिचय खुलाउन मानेनन् । आफ्नो मत सूर्यमा जाने भन्दै थप विश्लेषण सुनाए ।

‘सुन्नुस् म एमालेको मतदाता भए पनि यहाँ प्रतिस्पर्धा हुनुपर्ने तारा र रुखको हो,’ उनले भने, ‘कांग्रेसले आफ्नो पार्टीमा मत अड्यायो भने हलोले चुनाव हार्छ।’

जुम्ला हराउने चिन्ता !

बेगले बग्ने तिला नदीले आफ्नो रफ्तारलाई कम गरेको छैन । उसैको किनारमा खेती किसानीले जीवन धानिरहेका जुम्ली जनताको दु:खको बेग पनि कम छैन । स्याउ र एकहात पर्यटन क्षेत्रमा बाहेक माथि उठेर उसले परिचय बनाउन सकेको छैन ।

चुनावको एजेन्डामा बाटो विकास तथा पूर्वाधार परेको छैन । यहाँको विकास पनि परेको देखिएन । गाउँमा युवा देखिँदैनन् । त्यसैले रास्वपाको माहोल कमै पाइएको हुन सक्छ । भएका युवालाई पनि ज्ञानेन्द्र शाहीको क्रेज छ ।

null

मतदाताहरूले यो क्रेज पछाडिको रहस्य पनि सुनाए । शाहीले काठमाडौंलाई जुम्लाको आवाज सुनाएको र सदनमा बोलेर सिंगो नेपालमा ‘जुम्ला छ’ भन्ने स्थापित गरेको मतदाताको तर्क छ ।

‘ज्ञानेद्रले जुम्ला चिनाय‍ो, संसद्‌मामा उस्तै भाषण गर्छ,’ २२ वर्षका दिनेशनाथ योगीले भने,‘उसले हारे जुम्ला हराइजान्छ।’

तातोपानी गाउँपालिका-५ का मतदाता परिनन्द गिरीले आफ्नो सैद्धान्तिक मत सूर्यमा हाल्ने भए पनि उम्मेदवार शाहीको प्रशंसा गरे  । ‘सांसद भनेको गोमन सर्प जस्तो टोक्ने हुनुपर्ने रहेछ,’ उनले सुनाए ।

विगतको गणित

२०७९ को निर्वाचन शाहीले जित्दा प्रदेशतर्फ  जुम्ला १ (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले चुनाव जितेका थिए । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्रका कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई चुनाव हराएका थिए । देवेन्द्र अहिले कांग्रेसमै फर्किसकेका छन् । 

 जुम्ला १ (२) भने एमालेले चुनाव जित्यो । एमालेका टेकराज पछाईंले चुनाव जित्दा नेकपा एसका पदमबहादुर रोकायले दोस्रो स्थानमा मत ल्याए । कांग्रेसले गठबन्धनलाई छाडेपश्चात् स्वतन्त्र चुनाव लडेका धनबहादुर बस्नेतले ४ हजार मत कटाएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

null

२०७९ कै स्थानीय तह निर्वाचनतर्फ कनकासुन्दरी गाउँपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो । यस्तै, गुठिचौर गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एसले जितेको थियो । 

चन्दननाथ नगरपालिका प्रमुख कांग्रेसबाटै टिकट नपाएर स्वतन्त्र उम्मेदवार बनेर राजु सिंह कठायतले जित्दा उपप्रमुख कांग्रेसले जितेको थियो । 

यस्तै, तातोपानी गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले जित्दा तिला गाउँपालिका अध्यक्ष,उपाध्यक्ष माओवादीले जितेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । 

यस्तै, पातारासी गाउँपालिका अध्यक्ष कांग्रेस तथा उपाध्यक्ष माओवादी, सिंजा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष माओवादी तथा हिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । यहाँ जिल्ला समन्वय प्रमुख पनि कांग्रेसले नै बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्