०७ साउन २०८३, बिहीबार

शिक्षकहरूलाई रविको आग्रह- राजनीतिको ठेक्का हामीलाई दिनुस्

फागुन १२, २०८२
काठमाडौं
शिक्षकहरूलाई रविको आग्रह- राजनीतिको ठेक्का हामीलाई दिनुस्
फाइल तस्वीर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रातृ संगठन नबनाउने भनेको कुरामा चिन्ता व्यक्त नगर्न भनेका छन् ।

आफूहरू देशमा विधिको शासन चाहने र थिति बसाल्नका लागि आएको भन्दै उनले भ्रातृ संगठन बर्जित गर्नुको अर्थ अधिकारबाट वञ्चित गराउनु नरहेको बताएका हुन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले रास्वपाको निर्णयले शिक्षकको पेसागत अधिकार संकटमा पर्‍यो भन्ने सुनिएको उल्लेख गर्दै शिक्षकहरूलाई विद्यार्थीको भविष्यको चिन्ता गर्न आग्रह गरे ।

‘शिक्षक साथीहरू पनि संगठित भएको सुनियो । हाम्रो पेसागत संगठन संकटमा पर्‍यो पेसागत संगठन खारेज गर्न पाइँदैन भन्ने कुराहरू गरेको सुनियो । चिन्ता नगर्नुस् तपाईंहरू स्मार्ट क्लासरूम कसरी बनाउने हो त्यसको योजना बनाउनुहोस् । राजनीतिको ठेक्का हामीलाई दिनुहोस् । राजनीति हामी गरौंला । यो देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिने, हरेक क्लासरूम र विद्यार्थीको भविष्य कसरी बनाउने त्यता ध्यान दिनुस् । तपाईंको सुरक्षा रास्वपाको नेता गर्दैन, रास्वपाको नीतिले गर्छ । देशको शिक्षा नीतिले गर्छ । विद्यार्थीको भविष्य तपाईं बनाउनुहोस् ।’

उनले शिक्षकलाई भोट बैंक बनाएर ३५ वर्ष भोट लिएर गएकाहरूले हक हितको संरक्षण गरे कि गरेनन् भनेर सोच्न रविको आग्रह छ । 

‘एकपटक घर गएर, आफ्ना छोराछोरी र आमाबालाई हेरेर आफैंले आफैंलाई जवाफ दिनुहोस् । हामी यति चाहन्छौं कि यो देशमा विधिको शासन बनोस् । हामी थिति बसाल्ने काम गर्नका लागि आएका हौं । मजदुर, विद्यार्थी, कृषक, कर्मचारी कसैले चिन्ता गर्नुपर्दैन’, उनले भने ।

उनले काम नगर्ने निर्माण व्यसायीलाई कानूनले बाँध्ने पनि बताए । आफूहरूले डोरीले बाँध्ने नभनेको भन्दै उनले कानूनले बाँधेर काम गराउने भनेको उल्लेख गरे । केही दिन पहिले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले काम नगर्ने निर्माण व्यवसायीलाई रूखमा बाँधेर भए पनि काम गराउने भनेका थिए । त्यसको चौतर्फी आलोचना भइरहेको छ । उक्त अभिव्यक्तिका विरुद्ध नेपाल निर्माण व्यवसायी संघले विज्ञप्ति नै निकालेर विरोध जनाएको थियो ।

‘निर्माण व्यवसायीले अब विज्ञप्ति निकाल्नु पर्दैन । विज्ञप्ति होइन, इक्युपमेन्ट कसरी खरिद गर्ने हो, रातारात कसरी विकास गर्ने हो त्यतातिर लाग्नुस् । विज्ञप्ति निकाल्नु पर्दैन । अब देश विकास निर्माणको बाटोमा अघि बढ्दै छ’, लामिछानेले भने, ‘बाँध्ने भनेको कानूनले बाँध्ने भनेको हो । मान्छेलाई डोरीले बाँध्ने भन्या होइन । कानूनले बाँधेर काम गराउने भन्या हो । कानूनले नै बाँध्ने हो ।’

उनले पुराना दलका नेताहरू  २०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२/१५ वटा कानून फेर्नुपर्छ भन्ने ज्ञान आएको भन्दै कटाक्ष गरे । 

‘तपाईंको ज्ञान तपाईंसँग राख्नुहोला । म सबै निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु- हुन सकेसम्म ३ सिफ्ट, ३ सिफ्टमा काम हुन्छ । रातारात काम हुन्छ । तपाईंसँग भएका उपकरण पर्याप्त छैनन् होला’, रविले भने, ‘विज्ञप्ति निकाल्नु पर्दैन । के के उपकरण ल्यानुपर्ने हो, कसरी ल्याउनुपर्ने हो त्यसको तयारी गर्नुहोस् अब नेपाल विकास निर्माणको बाटोमा जान्छ,  कसैले छेक्न सक्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्