२६ जेठ २०८३, मंगलबार
चुनावी ग्राउन्ड जिरो

प्रचण्डले छाडेको गोरखा–२ मा त्रिपक्षीय टक्कर: पालुङटारदेखि बारपाकसम्म पुग्दा जे सुनियो

प्रचण्डले छाडेको गोरखा–२ मा त्रिपक्षीय टक्कर: पालुङटारदेखि बारपाकसम्म पुग्दा जे सुनियो

अघिल्लोपटक तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष (हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक) पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको गोरखा क्षेत्र नम्बर २ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। गोरखा बजार, पालुङटारदेखि बारपाकसम्म पुगेर ३०० भन्दा बढी मतदातासँग कुराकानी गर्दा आगामी चुनावमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

गोरखा नगरपालिकाका ८ देखि १४ नम्बरसम्मका वडा, पालुङटार नगरपालिका तथा सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका समेटिएको गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट कवीन्द्र बुर्लाकोटी र राप्रपाबाट कुलबहादुर बस्नेतसहित ११ दल र २ स्वतन्त्र उम्मेदवार मैदानमा छन्।

null

पालुङटारमा रास्वपा अगाडि देखिँदा गोरखा नगरपालिकामा तीन दल (कांग्रेस–नेकपा–रास्वपा) बीच प्रतिस्पर्धा छ। ग्रामीण पालिकाहरूमा भने नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ। यद्यपि, ‘घण्टी’ को चर्चा माथिल्ला बस्तीसम्म समेत पुगेको देखिन्छ।

के छ मतदाताको मनोविज्ञान?

गोरखा नगरपालिका–८, बराहाका बाबुराम अर्यालले यसपटक घण्टी (रास्वपा) र तारा (नेकपा) बीच प्रतिस्पर्धा हुने बताए। 'यहाँ लेखनाथ र कवीन्द्रबीच प्रतिस्पर्धा हुन्छ,' अर्यालले भने, 'नयाँ पुस्ता घण्टीमा छन्, पुरानाले आ–आफ्नै दलमा मत देलान् जस्तो लाग्छ।'

सोही ठाउँका हरिबहादुर खत्रीले उम्मेदवारको हिसाबले घण्टी र तारा अगाडि रहेको जिकिर गरे। उनको झुकाव घण्टीका तर्फ बढी पाइयो। स्थानीय मंगलप्रसाद श्रेष्ठले पनि घण्टी र ताराबीच नै प्रतिस्पर्धा हुने बताए।

नजिकै भेटिएका डिलबहादुर बरामले आफूले २०६४ सालमा (माओवादीको लहर रहेको बेला) समेत कांग्रेसलाई भोट हालेको बताए। गोरखा–८, कट्टेलडाँडाकी मनु परियारले आफूले प्रत्यक्ष र समानुपातिक दुवै मत ‘तारा’ लाई दिने बताइन्।

null

गोरखा नगरपालिका–१०, छेबेटारका कृष्ण तिमिल्सिनाले आफ्नो ठाउँमा नेकपा अलि खस्किएको जिकिर गरे। कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने बताएका उनको झुकाव कांग्रेसतर्फ देखियो। केही अगाडि बढेपछि भेटिएका एक पुरुष मतदाताले कांग्रेसले जित्ने दाबी गरे। प्रकाशचन्द्र दवाडीलाई मत दिने बताएका उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

छेबेटारकै मिलाप खड्काले त्रिपक्षीय प्रतिस्पर्धा रहेको बताए। उम्मेदवारको हिसाबले नेकपाका लेखनाथ न्यौपाने इमानदार रहेको उनको भनाइ थियो। गोरखा नगरपालिकाकै सुवास कट्टेलले कसलाई मत दिने भनेर निर्णय गरिनसकेको बताए। 'कहाँ हुन्छ, थाहा छैन,' कट्टेलले भने, 'उम्मेदवारमध्ये राम्रो चाहिँ ताराको हो, भोट चाहिँ भित्रै छिरेपछि मात्र थाहा हुन्छ।'

null

पालुङटार नगरपालिका वडा नम्बर ५, हवाई ग्राउन्डका खुसीमान गुरुङले आफ्नो ठाउँमा रुख (कांग्रेस) र घण्टीको माहोल रहेको बताए। २०६० सालदेखि माओवादीमा आबद्ध भएको बताएका गुरुङले नेकपा अध्यक्ष प्रचण्डप्रति तीव्र आक्रोश पोखे। 'प्रचण्डले धोका दिएर गए। यहाँ एयरपोर्ट खनेर खाल्डैखाल्डा छ। बाबुरामले पनि पार्टी छाडे,' गुरुङले भने।

उनले यसपटक नयाँलाई हेर्न चाहेको बताए। नजिकै भेटिएका अन्य वृद्धहरूले पनि घण्टीमा भोट हाल्ने बताए। पालुङटार–५, राधाकृष्ण टोलमा भेटिएका भक्तबहादुर कार्कीले गोरखा–२ मा त्रिपक्षीय प्रतिस्पर्धा रहे पनि आफ्नो रोजाइमा कांग्रेसका प्रकाशचन्द्र दवाडी रहेको बताए। 'यहाँ रुख, तारा र घण्टीको प्रतिस्पर्धा छ। एमाले चाहिँ अलि कमजोर छ,' कार्कीले भने, '२०८४ मा हुने चुनाव ८२ मा सारेर देशलाई ऋण मात्र बोकाए। चुनाव हुने नै भयो भने मेरो रोजाइ प्रकाशचन्द्र दवाडी नै हो।'

null

पालुङटारका लक्ष्मीप्रसाद मिश्रले पनि कांग्रेसलाई नै मत दिने बताए। उनले विगतदेखि नै कांग्रेसलाई मत दिँदै आएका थिए। पालुङटार–५, ठाँटीपोखरीमा भेटिएका पदम गिरीले एमालेका चक्रे मिलनलाई मत दिने बताए। 'देश जलाउने गुण्डा कि जनताको सेवा गर्ने गुण्डा?' प्रश्न गर्दै उनले भने, 'उम्मेदवार चाहिँ परिवर्तन नगर्ने, जनताले मत चाहिँ परिवर्तन गर्नुपर्ने? आँखामा छारो हाल्ने काम गरिरहेका छन्। गाई काटेर खान पाउनुपर्छ भन्ने, हिन्दूलाई हाम्रो पार्टीमा ठाउँ छैन भन्नेलाई हामीले भोट दिनुपर्ने? यो विकास कसले ल्यायो? ती पुराना भनिएकाले नै होइन र?'

null

पालुङटारकै ताराबहादुर भट्टराईले आफूले नेकपाका लेखनाथ न्यौपानेलाई मत दिने बताए। सँगै रहेकी ईश्वरी न्यौपानेले भने पुराना दलसँग अघाएकाले घण्टीमा भोट हाल्ने बताइन्। पालुङटार–३, डुम्रीडाँडाका रणबहादुर अधिकारीले आफू पहिला कांग्रेस भए पनि अहिले खुलमखुल्ला घण्टीमा भोट हाल्ने बताए।

पालुङटार–४, बाह्रपिर्केका ५८ वर्षीय एक पुरुषले ‘उम्मेदवार जोसुकै उठुन्, भोट घण्टीमा हाल्ने हो’ भन्ने मानिसहरूको बाहुल्य रहेको जिकिर गरे। पालुङटार–४, लुइँटेल अर्चलेका अर्का एक व्यक्तिले पनि रास्वपालाई मत दिन सक्ने संकेत गरे। 'टोल छिमेकमा सबैले घण्टी भनेका छन्, त्यतै दौडिनुपर्ला,' उनले भने।

पालुङटार–४, बाह्रपिर्केका गोविन्द न्यौपानेले आफूलाई पुराना नेता मन नपर्ने र नयाँ भनिएकाहरू पनि अहिलेसम्म नआएको बताए। पालुङटारकै कालीध्वज मल्ल ठकुरीले पहिले सबैलाई मत दिएको भन्दै यसपटक एक भोट घण्टीलाई दिने बताए।

पालुङटार–१, पाउरोटी भण्डारका पुष्पराज पोखरेलले पहिले माओवादीलाई मत दिए पनि अहिले दोधारमा रहेको संकेत गरे। आफ्नो ठाउँको बाटो पिच नभएकोमा उनको गुनासो थियो। पालुङटार–१, खोप्लाङका हेमकुमार श्रेष्ठले जो आए पनि उस्तै भन्दै असन्तुष्टि पोखे।

null

बारपाक सुलिकोट गाउँपालिका–३, स्वाँराका सुकबहादुर विश्वकर्माले आफ्नो ठाउँमा नेकपा मात्रै रहेको जिकिर गरे। 'हाम्रो गाउँमा सय–डेढ सय घर छन्, सबै तारा हो,' विश्वकर्माले भने। बारपाक–२, चौबारका भागीमान गुरुङले आफ्नो ठाउँमा माओवादी (नेकपा) र कांग्रेस धेरै रहेको बताए। उनले आफूले कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई मत दिने बताए।

बारपाक–१ की कान्छी घलेले आफूलाई चुनावी माहोलबारे थाहा नभएको बताइन्। बारपाकै रामकुमार घलेले पहिला माओवादीलाई मत दिए पनि यसपटक घण्टीको चर्चा सुनेको बताए। 'नयाँकै बहस छ, एकपटक हेरौँ न त भन्नेहरू पनि देखिन्छन्,' उनले भने।

null

बारपाकै चुमबहादुर गुरुङले कांग्रेस, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए। 'तीन दल उस्तै–उस्तै देखिन्छन्। जनताले सबैलाई ल–ल भनेका छन्, भोट चाहिँ कसलाई दिन्छन् कुन्नि!' उनले आफ्नो मत कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई जाने बताए। बारपाकै यमबहादुर घलेले पनि कांग्रेस, नेकपा र घण्टीकै माहोल रहेको बताए।

बारपाकमै केही महिलाहरू गिट्टी बोकिरहेको अवस्थामा भेटिए। त्यसमध्येकी २५ वर्षीया स्मिता घलेले आफ्नो भोट घण्टीलाई जाने बताइन्। सँगै रहेकी मनकुमारी घलेले गाउँमा अस्पताल नभएकाले समस्या परेको गुनासो गरिन्। 'यहाँ अस्पताल छैन। स्वास्थ्य चौकीमा प्रेसर जाँच्नेबाहेक केही काम हुँदैन। एउटा भिडियो एक्सरे गर्न पनि गोरखा बजार पुग्नुपर्छ,' उनले भनिन्।

null

बारपाक–१, सोर्ताका गोर्खाली गुरुङले भोट हाल्ने बेलामा मात्र निर्णय हुने बताए। बारपाक–२, राङ्गरुङ्गका तुलबहादुर गुरुङले कांग्रेस र नेकपाबीच प्रतिस्पर्धा रहेको बताए। उनको झुकाव भने नेकपातर्फ देखियो। युवाहरू एमालेका चक्रे मिलनको पछि लागेको उनले सुनाए।

null

अजिरकोट–४ का जीवि घलेले आफ्नो ठाउँमा एमाले र कांग्रेसको प्रतिस्पर्धा रहेको बताए। 'अहिले भनेर केही हुन्न। मान्छेलाई पुरानैमा आदत बसिसकेको छ,' उनले भने। घलेको झुकाव कांग्रेसतर्फ देखियो। अजिरकोट–४ कै सलिना सुनुवारले अहिले चुनावको खासै चहलपहल नरहेको बताइन्।

अजिरकोट–४, ढोडेनीकी नविना ढकालले तारामा भोट हाल्ने बताइन्। चुनावी माहोलबारे जिज्ञासा राख्दा उनले पटक–पटक दोहोर्‍याएर सोधिन्– 'बाबुलाई मर्का पर्छ कि?' 'पर्दैन, आफूलाई लागेको भन्नुस्' भनेर आश्वस्त पारेपछि उनले भनिन्, 'हामी त तारा छाप।' सँगै रहेकी लक्ष्मी थापाले विगतमा रुखमा भोट हाले पनि यसपटक घण्टीमा भोट हाल्ने बताइन्।

null

बारपाक–४, सौरपानीकी रुपा पनेरुले कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई मत दिने बताइन्। सोही ठाउँका चन्द्रबहादुर विकले घण्टीमा भोट हाल्ने बताए। अजिरकोटको मुच्चोक ओलाङका एक वृद्धले गाउँमा युवा नै नरहेको गुनासो गरे। अजिरकोट–४, ढोडेनीका सञ्जय तामाङले घण्टीमा भोट हाल्ने बताए। 'पहिले प्रचण्डलाई जिताएर पठाएको हो, काम गरेनन्। यहाँ खोलामा तटबन्ध नहुँदा बर्खामा रातभर जागा बस्नुपर्ने अवस्था छ,' तामाङले भने, 'अब घण्टीमा भोट हाल्ने हो।'

अजिरकोट–१ का भक्तबहादुर मगरले हल्लाखल्ला जे भए पनि अन्तिममा माहोल फरक हुन सक्ने बताए। अजिरकोट–५, चनौटेका रामबहादुर गुरुङले रुख र घण्टीमा कसले जित्छ भन्न सकिने अवस्था नरहेको बताए। सिरानचोक गाउँपालिका–७, केराघारीका सुरज गुरुङले चुनावबारे आफूलाई केही थाहा नभएको बताए। सँगै रहेका अर्का एक युवाले रुखमा भोट हाल्ने बताए।

null

सिरानचोक–६, खहरेका कामीसिंह गुरुङले युवाजति नयाँ र बुढाबुढी पुरानै दलमा रहेको बताए। सिरानचोक–६, नयाँ साँघुका हेमनारायण श्रेष्ठले पहिला माओवादीलाई मत दिए पनि केही काम नगरेको भन्दै यसपटक एमालेका चक्रे मिलनलाई मत दिने बताए। सोही ठाउँका ज्ञानेन्द्र सुवेदीले गुरुङ उम्मेदवार भएको र युवाहरूमा माहोल बनेकाले एमालेले जित्ने दाबी गरे।

null

सिरानचोक–५ मा भेटिएका शालिकराम तिवारीले नेकपाले जित्ने सम्भावना रहेको बताए। सँगै रहेकी अनिता बानियाँले प्रदेश सभामा रहँदा धेरै काम गरेको भन्दै कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई मत दिने बताइन्। सिरानचोक–४, चोरकाटेकी ज्ञानु श्रेष्ठले आफ्नो ठाउँमा कांग्रेसको बाहुल्य रहेको बताइन्। सोही ठाउँका सन्दीप पोखरेलले कांग्रेस, नेकपा र रास्वपा सबैका उम्मेदवार राम्रो रहेको बताए। 'तीनै जना पालैपालो जिताउनुपर्ने खालका छन्,' उनले भने।

null

माथि उल्लेख भएका प्रतिनिधिमूलक नाम मात्र हुन्, हामीले अन्य धेरै मतदातासँग कुराकानी गरेका थियौँ। पुरानै दलहरू कांग्रेस, नेकपा र एमालेलाई मत दिन्छु भन्ने अधिकांशले आफ्नो पहिचान खुलाउन चाहेनन्।

युवामा माहोल बनाउँदै चक्रे मिलन

हामी बारपाकतर्फ जाँदै गर्दा एमाले उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) सडक नजिकै केही स्थानीयसँग कुरा गरिरहेको भेटिए। उनीसँग युवाहरूको ठूलो समूह थियो। चक्रेले आफूले जिते पनि नजिते पनि गाउँ–ठाउँका समस्या समाधान गर्ने बताइरहेका थिए। 'तपाईंहरूले यहाँ खानेपानीको समस्या छ भन्नुभयो। मैले जिते पनि नजिते पनि खानेपानी ल्याउँछु। यो बुथबाट कति मत आयो भन्ने थाहा भइहाल्छ। त्यसपछि मैले नजिते पनि उहाँ (सँगै रहेको एक पुरुषतर्फ देखाउँदै) लाई भन्नुस्, उहाँले मेरो ढोका ढक्ढक्याउनुहुन्छ। तपाईंहरूको गाउँमा पानी आउँछ, यो मेरो वाचा भयो,' उनले भने।

null

उनले युवा र गुरुङ बस्तीमा केही माहोल बनाउन सक्ने देखिए पनि अन्य ठाउँमा रक्षात्मक रहेको पायौँ। मुख्य प्रतिस्पर्धा कांग्रेस, नेकपा र रास्वपाबीच नै देखियो।

विगतको चुनावी गणित

अघिल्लोपटक २०७९ मा यो क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए। कांग्रेसको समेत समर्थन रहेका प्रचण्डले २६,१०९ मत ल्याउँदा रास्वपाका कवीन्द्र बुर्लाकोटीले १२,६३९ र एमालेका अब्दुस सलाम मियाले ७,३९५ मत पाएका थिए।

समानुपातिकतर्फ तत्कालीन माओवादीले १९,०००, कांग्रेसले ११,८८२ र एमालेले ६,१८५ मत पाएका थिए। विगतमा यो क्षेत्रलाई डा. बाबुराम भट्टराईको प्रभाव क्षेत्र मानिन्थ्यो। बाबुराम यसपटक उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिम समयमा उनी पछि हटेका थिए।

null

पालुङटारमा बाबुरामले रास्वपालाई समर्थन गरेको हल्ला चलेको रहेछ। तर, बाबुरामलाई नेता मान्दै आएका कतिपय पुराना कम्युनिस्ट मतदाता भने नेकपाका लेखनाथ न्यौपानेतर्फ ढल्किएको पनि हामीले पायौँ। यो क्षेत्रका सबै खालका भूगोल र पालिका समेट्ने गरी मतदातालाई भेट्दा मुख्य प्रतिस्पर्धा कांग्रेस, नेकपा र रास्वपाबीच नै देखियो। तीव्र प्रतिस्पर्धा रहेकाले यी तीन मध्ये कसले जित्छ भन्न सकिने अवस्था छैन।

salt training

कमेन्ट गर्नुहोस्