
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्तीदेवी पोख्रेलले जनताले आफूमाथि गरेको भरोसाले उत्साहित बनेको बताएकी छिन् । घरदैलोका क्रममा जनताले आफूमाथि गरेको विश्वासले उत्साहित बनाएको र आफू विजयी हुनेमा ढुक्क रहेको उनले विश्वास व्यक्त गरिन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ८ र ९ को पुरानो गोठाटार, नरेफाँट गणेश मन्दिर, जडिबुटी, काठमाडौं महानगरपालिका ३२ र कोटेश्वर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरी सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् । जनताले चाहेको युवाको प्रतिनिधित्वका साथै महिलाको समेत प्रतिनिधित्व गर्दै राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिको संरक्षण गर्ने उम्मेदवार आफू रहेको उनले बताइन् ।
घरदैलोका क्रममा उम्मेदवार पोख्रेललाई स्थानीयले आत्मीय स्वागत गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
घरदैलोका क्रममा उनले उक्त क्षेत्रका स्थानीयका समस्या, आवश्यकता र राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी थिइन् । सडक विस्तार, खानेपानी, ट्राफिक व्यवस्थापन र भ्रष्टाचार नियन्त्रणका काम गर्दै सरकारलाई पारदर्शी र जनउत्तरदायी बनाउँदै सुशासनका लागि जनताको आवाज बन्ने उनको प्रतिबद्धता थियो ।
उम्मेदवार पोख्रेलले स्थानीय उत्पादन र साना तथा मझौला उद्यमलाई संकलन केन्द्र, सहकारी–आधारित मार्केटिङ, ब्रान्डिङ र डिजिटल प्लेटफर्ममार्फत बजारसँग जोड्ने, कर, अनुमति र प्रशासनिक झन्झट सरल बनाई रोजगारी र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन लागिपर्ने प्रतिबद्धता उनले जनाइन् ।
उनले शंखरापुर, कागेश्वरी मनोहरामा कृषि विकासका कार्यक्रम ल्याउने, कोटेश्वर, पेप्सीकोला क्षेत्रको औद्योगिक वायु प्रदूषण रोक्न पहल गर्ने, मापदण्ड उलंघन भए प्रदूषण नियन्त्रण उपकरण अनिवार्य गराई कानूनी कारबाही सुनिश्चित गरिनेमा पनि जोड दिइन् ।