
इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली बुधबार तेहरानबाट जेनेभाका लागि प्रस्थान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।
वासिङ्टन र तेहरानले इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ ओमानको मध्यस्थतामा दुई चरणको वार्ता गरिसकेका छन् ।
अमेरिकाले इरानले युरेनियम प्रशोधन शून्यमा झार्न पटक–पटक आह्वान गर्दै आएको छ । साथै इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन गर्न र उक्त क्षेत्रमा रहेका लडाकू समूहलाई समर्थन नगर्न पनि माग गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताएका छन् ।
इरानले बारम्बार आणविक हतियार आफ्नो रोजाइ नभएको बताउँदै आएको छ । तर शान्तिपूर्ण उद्देश्यका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफूसँग रहेको पनि बताउँदै आएको छ ।
सम्झौताका लागि इरानमाथि दबाब दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा महत्वपूर्ण जलसेना परिचालन गरेका छन् ।
इरानले हालैका दिनमा देशको दक्षिणी क्षेत्र र खाडीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ नजिकै धेरै चरणको सैन्य अभ्यास गरेको छ ।