३२ असार २०८३, बिहीबार

एमाले र रास्वपालक्षित गगनको कटाक्ष- जेनजी आन्दोलनबारे दुइटैको सोच अतिवादी

फागुन १४, २०८२
काठमाडौं
एमाले र रास्वपालक्षित गगनको कटाक्ष- जेनजी आन्दोलनबारे दुइटैको सोच अतिवादी
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा भैरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले दुवै दलको नामै नलिई संसद् भवन पहिले जलेको र त्यसपछिमात्रै गोली चलेको भन्ने एमालेको भनाइ र जेनजी आन्दोलनबारे चुपचाप बसेको रास्वपाप्रति कटाक्ष गरे। रास्वपाले चुपचाप आन्दोलनको नाममा फाइदा लिने काम गरिरहेको उनको भनाइ छ । 

‘जेनजी आन्दोलनबारे दुई वटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ र भन्छ– भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सबले दूधभात खाएका थिए । केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को छ– बोल्दैन, भन्दैन । तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ । दुइटै सोच अतिवादी सोच हो । कांग्रेस यी दुवै सोचसँग असहमत छ ।’

थापाले चुनावबारे संशय पैदा गर्ने प्रयास भइरहेको बताए । संविधानलाई ट्र्याकमा ल्याउन चुनावको विकल्प नभएको उनको भनाइ छ । ‘फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ । यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ । यहाँ कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ,’ उनले भने ।

थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरे । अबको समय खेर फाल्ने छुट नरहेको सभापति थापाको भनाइ थियो ।‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो,’ थापाले भने, ‘केवल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै–कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो । अब २०८२ देखि ०८७ सम्मको पाँच वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ ।’

salt training

कमेन्ट गर्नुहोस्