
नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
फागुन २१ गतेको निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताए ।
पौडेलले बिहीबार बुटवलमा पत्रकारहरू सँग कुरा गर्दै एमालेले विगतमा र वर्तमानमा जनपक्षीय काम गरेको दाबी गर्दै भोलि पनि जनताको पक्षमा काम गर्ने विश्वाससहित जनताले मत दिने बताए ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का मतदाता एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्डसेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए ।
‘रुपन्देही क्षेत्र नम्बर २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन । ती प्रक्षेपण अहिले फेल खाने छन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनु पर्नेछ भन्ने माइन्ड सेट गरेर बसेका छन् । जनताको त्यो माइन्ड सेटलाई परिवर्तन गर्न निकै कठिन छ,’ पौडेलले भने ।
पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मात्र नभएर पाँचवटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे । ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नम्बर ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकाले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठूलो शक्तिको रूपमा पुनर्दोय हुँदैछ,’ उनले भने ।
उनले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजना सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।
‘एमालेले केवल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमूना बनाउनका लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल-नारायणगढ र बुटवल-गोरुसिङ्गे सडक आयोजनासँगै सिद्धबाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने ।
पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्र एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न सकिने बताए ।