![विशेष रिपोर्ट : नयाँका पक्षमा झन् खुल्दै मतदाता, थप अप्ठ्यारोमा ओली [१२९ को भिडियो]](https://lktcdn2.prixacdn.net/media/OLi_and_Balen_Jahap_5_s4mRDtajrm.jpg)
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका बालेन (बालेन्द्र) शाह मैदानमा रहेको झापा ५ का मतदाता झन् खुल्न थालेका छन् ।
कुराकानी गर्न तयार भएका अधिकांश मतदाता (निर्वाचन आचारसंहिताका कारण प्रतिशत नखुलाइएको)ले ‘यसपटक नयाँ’लाई मौका दिने भन्ने गरेका छन् ।
१९ दिनपछि लोकान्तर डट्कमको टोलीले झापा ५ का चारवटै पालिकाका प्राय: सबै वडामा गएर पुन: ९ सय ३७ मतदातासँग कुराकानी गरेको छ । माघ २४ देखि २६ सम्म लोकान्तरले कुराकानी गर्दा नखुलेका मतदाता पनि मतदानको दिन नजिकिएसँगै खुल्न थालेका छन् । उनीहरूले एकपटक नयाँलाई मौका दिएर परीक्षण गर्न चाहेको बताए ।
हेर्नुहोस् माघ २६ गते लोकान्तरले प्रकाशित गरेको पहिलो स्टोरी :
विशेष रिपोर्ट : सात सय मतदातासँग कुरा गरेपछि झापा-५ मा जे देखियो...
लोकान्तर डट्कमले कुराकानी गरेकामध्ये अधिकांश मतदाताले यसपटक ‘नयाँलाई हेर्ने र युवालाई मौका दिने’ बताए । कांग्रेस, एमाले, नेकपालगायत पुराना दललाई ३५ वर्ष मौका दिएकाले यसपटक नयाँलाई हेर्न चाहेको मतदाताको भनाइ थियो । पाका मतदाता, महिला, मजदूर, किसान, व्यापारी, लगायत विभिन्न क्षेत्रका मतदातासँग कुरा गर्दा बहुसंख्यकले एकैखालको जवाफ फर्काए- ‘यसपटक नयाँलाई ।’
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालाई भोट दिन्छु भन्नेको संख्या अत्यन्त न्यून पाइयो । यी चार दल बाहेक अन्यलाई भोट दिन्छु भन्नेको संख्या भने नगण्य छ । दुई हेभिवेट उम्मेदवारका कारण छायाँमा परेका अन्य दलका उम्मेदवार पनि चुनाव जितेर रेकर्ड बनाउने भन्दै प्रचार प्रसारमा जुटेका छन् ।
एमाले-कांग्रेसका कतिपय प्रतिबद्ध कार्यकर्ताले पार्टी नछाडि यसपटक नयाँलाई भोट दिने योजना बनाएको बताए । पार्टीको चुनावी अभियानमा हिँडेका कार्यकर्ताले समेत भोट नयाँलाई दिने बताए ।
विगतदेखि नै राजनीतिक दलमा आबद्ध रहेको र भविष्यमा पनि समाजमा बस्नुपर्ने भएकाले खुलेर बोल्न समस्या रहेको कतिपय मतदाताले भने । हामीले कुरा गरेकामध्ये कतिपय मतदाताले मत दिन चाहेको विषय भिडियोमा पनि बोलेका छन्, यसरी प्रष्ट कुरा राख्नेको संख्या १० प्रतिशत थियो ।
हेर्नुहोस् १२९ मतदातासँग भिडियोमा गरिएको कुराकानी [भाग-१]
‘यसपटक नयाँलाई, बाबैलाई पुग्यो !’
एमालेकै कतिपय कार्यकर्ता अध्यक्ष केपी ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । झापाका मतदाता भने ओलीलाई ‘बाबै’ भन्छन् । नयाँलाई भोट दिन्छौं भनेका अधिकांशले यसपटक ओलीलाई नदिने बताए ।
कतिपय मतदाताले भदौ २३ को घटना दबाएको भन्दै ओलीप्रति आक्रोश पोखे । तर नयाँ पार्टीलाई दिने बताएका धेरैले ओलीको आलोचना गरेनन् ।
कमल गाउँपालिका १ का सोमबहादुर दर्नालले यसपटक नयाँलाई दिने गाउँभरी सल्लाह रहेको बताए । ‘यसमा कुनै द्विविधा छैन, भोट नयाँलाई दिने हो, बालेन शाहलाई जिताउने हो । पुराना पार्टीबाट धेरै आश्वासन पाइयो । एकपटक नयाँलाई नै हेर्ने हो’, दर्नालले भने ।
राप्रपाप्रति आस्था राख्ने गौरादह २ का कालीबहादुर अधिकारीले यसपटक आफूहरू भोट परिवर्तनको पक्षमा रहेको बताए । ‘सबैले घण्टी घण्टी भनिरहेका छन्, परिवर्तनका लागि आएका नयाँले केही न केही त गर्छन्, ५ वर्ष हेर्ने हो’, अधिकारीले भने, ‘५ वर्ष काम गरेनन् भने उनीहरूले पनि सजाय पाउँछन् ।’

कमल १ का परशुराम खड्काले भने आफू अहिले पनि पुरानै पार्टीको पक्षमा रहेको बताए । ‘मान्छेहरूले नयाँ नयाँ भनिरहेका छन्, तर म फेरिएको छैन सूर्यमै भोट हाल्ने हो’, खड्काले भने ।
गौराहद ८ का सागर ताजपुरियाले यसपटक नयाँलाई हेर्न चाहेको बताए । ‘एमालेलाई विगतमा पनि दिएकै हो, यससटक नयाँलाई हेरौं भन्ने सोंच आएको छ’, उनले भने, ‘बालेन आएका कारण पनि एकपटक नयाँलाई दिन मन लागेको हो ।’
दमक २ भाङवारीका किस्मत रिजाल यसपटक नयाँलाई हेर्ने विचार रहेको बताउँछन् । ‘बालेनले यहाँका धेरैको मन जितेका छन्, कसैलाई गाली नगरी उनले झापामा माहोल बनाएका छन्’, रिजालले भने ।
ओलीको जन्मठाउँ तेह्रथुमबाट झापा बसाइँ सरेका देवीप्रसाद चापागाईंले यसपटक नयाँलाई दिने सोंच आएको बताए । ‘हुन त ओली र म जन्मेको एकै ठाउँमा हो, म भन्दा केही जेठा हुन् । तर यसपटक ओलीलाई भोट दिन्नँ । अब उनलाई पुग्यो’, चापागाईंले भने ।
हेर्नुहोस् १२९ मतदातासँग भिडियोमा गरिएको कुराकानी [भाग-२]
दमक १ संगम चोकमा पसल सञ्चालन गर्दै आएकी विमला विकले यसपटक आफूहरूको मन नयाँले जितेको बताइन् । ‘जोस, जाँगर भएको युवालाई जिताउने हो, अब ओलीले आराम गरेर बसे हुन्छ’, विकले भनिन्, ‘२ छोरीसहित हामी ४ जनाको भोट यसपटक नयाँलाई जान्छ ।’
दमक १ मै पसल सञ्चालन गरेर बसेका राजकुमार परियारले एमालेलाई भोट दिने बताए । ‘केपी ओलीलाई हामी भेट्न सक्छौं, बालेनलाई भेट्न पनि गाह्रो छ । भेट्न जाँदा मुक्का खाइने हो कि भन्ने डर छ’, परियारले भने ।
दमकमा खाद्यान्न स्टोर सञ्चालन गरेर बसेका कमल चौलागाईं र पत्नी चन्दाले यसपटक खुलेर नयाँलाई समर्थन गर्ने बताए । ‘सधैँभरी उनै पुरानालाई दिनु पर्ने ? पटक-पटक अवसर पाएर के भयो ? फेरि गल्ती गर्दैनौं । नयाँलाई दिने हो’, चन्दाले भनिन् ।
आफूलाई एमालेको कट्टर कार्यकर्ता बताउने दमक १ का विपुल राजवंशी यसपटक नयाँलाई दिने बताउँछन् । ‘विगतमा केपी ओलीलाई जिताउन हिँडेकै हो, अब उहाँले आराम गरेर नयाँलाई अगाडि सार्नुपर्छ’, राजवंशीले भने, ‘एकपटक नयाँलाई अवसर दिनुपर्छ भनेर यसपटक म बालेनलाई जिताउनु पर्छ भन्नेमा लागेको छु ।’

दमक ७ का रामचन्द्र साहले भने देश जोगाउनका लागि हलोमा भोट हाल्ने योजना रहेको बताए । दमकका अर्का मतदाता थीरनाथ पौडेलले यसपटक नयाँलाई दिने सोचाइ रहेको बताए ।
‘हामीले सोंच विचार गरेरै नयाँलाई दिने योजना बनाएका छौं, परिवर्तनका लागि घण्टीमा भोट हाल्ने हो’, पौडेलले भने, ‘बालेन त चुम्बक जस्तै हुन्, जहाँ गए त्यहीँ भिड लागिरहेको छ ।’
बालेन आउँदा सडक जाम, अरुकोमा छैन चार्म !
कमल १ का गणेश साह सोलमारी चोकमा चिया नास्ताको पसल गरेर बसेका छन् । विगतमा राप्रपामा भोट दिएका उनी यसपटक रास्वपालाई भोट दिने पक्षमा छन् । उनको पसलमा भेटिएका अधिकांशले पनि यसपटक नयाँलाई दिने बताए ।
‘अस्ति बालेन शाह आउनु हुँदा यो चोकमा २ घण्टासम्म जाम भयो, अन्य दलको मान्छे आउँदा कार्यकर्ता बाहेक कोही पनि आइदिनु भएन । अब तपाईंले नै भन्नुस् यहाँ कसको माहोल छ ?’ उनले प्रतिप्रश्न गरे ।
दमक ९ का नवराज श्रेष्ठले भने झापामा अहिले घण्टी घण्टी भने पनि चुनावको नतिजा बंगलादेशको जस्तो आउने दाबी गरे । ‘भन्न त सबैले घण्टी घण्टी भनिरहेका छन्, अन्तिममा जित्ने ओलीले हो । किनभने यस्तै चर्चा भएको पार्टीले बंगलादेशमा चुनाव हार्यो ।’
हेर्नुहोस् १२९ मतदातासँग भिडियोमा गरिएको कुराकानी [भाग-३]
दमक ५ का कमल पौडेलले पुरानो दललाई धेरै देखिसकेकाले यसपटक नयाँलाई मौका दिने योजना रहेको बताए । ‘हेर्नुस् न बालेनले काठमाडौंमा कति धेरै विकास गरे, उनी प्रधानमन्त्री बने भने नेपालकै मुहार फेर्छन् । पढेलेखेको सक्षम युवालाई अवसर दिनुपर्छ’, पौडेलले भने ।
कमल गाउँपालिका १ का कविन राईले नयाँलाई अवसर दिन चाहेको बताए । ‘हामीले जान्दादेखि केपी ओली सांसद थिए, अहिले पनि उनैलाई दिने ? कहिलेसम्म दिने ? झापा ५ ओलीको बिर्ता हो भनेर लेख्दिए भयो नि !’, उनले भने ।
खेतमा आलु खन्दै गरेका सीता राई र मदनकुमारी राईले यसपटक माटोलाई भोट दिने बताए । ‘माटो छ र हामीले तरकारी फलाउन पाएका छौं, हामीलाई माटो प्यारो छ’, सीताले भनिन, ‘सबैलाइै हेरिम कि– यसपटक हर्कलाई समर्थन गर्ने बिचार छ ।’
नेपाली कांग्रेसकी स्थानीय कार्यकर्ता दोयना दाहाल मतदातामा युवा र नयाँप्रतिको आकर्षण देखिएको स्वीकार्छिन । ‘लुकाउनु पर्ने केही छैन, झापा ५ मा नयाँप्रतिको लहर छ । यसपटक नयाँलाई हेरौं न भन्नेहरू छन’, दाहालले भनिन्, ‘तर हामी हाम्रो संगठनमा विश्वास गर्छौं ।’

विगतको चुनावमा ओलीलाई जिताउन हिँडेका दमक ८ का सूर्य बस्नेत यसपटक नयाँ भनेर बसिरहेका छन् । ‘दमक ८ एमालेको गढ भनिन्थ्यो, अहिले यहाँबाट १० प्रतिशत भोट आउन पनि मुस्किल छ । मानिसहरू परिवर्तन चाहेका छन् । नयाँलाई भोट दिने भनिरहेका छन्’, बस्नेतले भने ।
शुक्रबार रास्वपाका कोशी प्रदेश समिति सदस्य ठगेन्द्र प्रसाद नेउपानेलाई ओलीले एमाले प्रवेश गराए । तर, नयाँको पक्षमा लहर आइरहेको अवस्थामा रास्वपाको कुनै नेतालाई तानेर ओलीले परिस्थिति बदल्न सक्ने अवस्था छैन ।
दमक ८ का शशीकुमार मल्लिक नयाँको पक्षमा आएको लहरलाई चुनौती दिने एजेन्डा अन्य उम्मेदवारसँग नभएको बताउँछन् । ‘मतदाता मात्र होइन स्कूले बच्चाले समेत बालेन बालेन भनिरहेका छन् । यस्तोमा केपी ओलीलाई चुनाव जित्न कठिन होइन, धेरै नै अफ्ठेरो छ’ मल्लिकले भने ।
कमल ५ का शेषकुमार लिम्बुले झापा ५ मा बालेनको पक्षमा असाधारण लहर आएको बताए । ‘यसपटक नयाँलाई दिनुपर्छ भनेर यहाँ एकप्रकारको हुरी नै चलेको छ । धेरैले बालेन भनेका छन्, कतिपय माटो भन्ने पनि छन्’, उनले भने ।
आदिवासी जनजातीको बाहुल्यता रहेको दमक नगरपालिकाको उत्तरी भेगका कतिपय मतदाताले माटोलाई भोट दिने बताइरहेका छन् । दमक ९ का लोकबहादुर थापाले नयाँको पक्षमा यसपटक अचम्मको माहोल देखिएको बताए । ‘यसअघि अन्य दलको झोला बोकेर हिँडेका पनि अहिले नयाँलाई भोट दिनुपर्छ भन्दै हिँडेको देख्छु, झापामा बालेनको पक्षमा देखिएको लहरले साँच्चिकै देश बन्छ कि भन्ने लागिरहेको छ’, उनले भने ।
नसा नसामा पार्टी छ, तर यसपटक भोट दिन्नौं !
२०४८ सालदेखि एमालेको कार्यकर्ता रहेका गौरादह ५ का ८० वर्षीय छत्रबहादुर बस्नेतले आफ्नो टोलमा नयाँ पार्टीको लहर रहेको बताए । ‘झापाका कुनै पनि ठाउँमा हुने सभाका लागि यहाँबाट ३ वटा गाडीमा मान्छे अट्दैनथे, अस्ति खड्ग ओली दमकमा आउँदा कोही मान्छे गएनन्, गाडी रित्तै गयो’, बस्नेतले भने, ‘तपाईं नै भन्नुस् यहाँको अवस्था के छ ? लगभग यो टोलमै सबैको विचार उस्तै हो ।’

दमक २ का नारायण दंगाल आफूहरू जन्मजात एमाले रहेको र नसा नसामा एमालेको राजनीति घुसे पनि यसपटक नयाँलाई भोट दिने बताउँछन् । ‘हजुरबुवाको पालादेखि नै हामी एमाले हो, विगतमा केपी ओलीको प्रचारमा पनि हिँडेको हो, अब पुग्यो’, दंगालले भने, ‘यसपटक हामी परिवर्तनको पक्षमा छौं । नि:सन्देह बालेनलाई भोट दिने हो ।’
गौरादह बजारमा हरियो मकै बेच्दै हिँडेका शेरबहादुर अधिकारीले पुराना दलसँग अघाएका मतदाताले यसपटक नयाँलाई दिने मन बनाएको बताए । ‘अहिले त जसले पनि नयाँ दललाई दिन्छु भनिरहेका छन्, बालेन बालेन भनिरहेका छन् । पुरानाबाट अघाएर होला’, अधिकारीले भने ।
गौरादह नगरपालिका १ का राजु जैरू यसपालिको मतदान घण्टीमा भनिरहेका छन् । ‘देश परिवर्तन गरौं भनेर युवाहरू लागिरहेका छन्, देशमा राम्रो हुन्छ भने हामीले किन नदिने ?’, उनले भने ।
गौरादहकी भावना बस्नेतले आफूहरूको क्षेत्रमा नयाँलाई दिने सल्लाह भइरहेको बताइन् । ‘यहाँ बालेन र घण्टीको जति चर्चा छ, चुनावमा अझै धेरै हुन्छ । अहिले घण्टी भनेर नखुलेका पनि नयाँलाई नै दिने मनस्थितिमा रहेको बुझ्छु’, उनले भनिन् ।
झापा गौरादहका ८४ वर्षीय नरदेव निरौला र ८६ वर्षका लक्ष्मीप्रसाद बरालले यसपटक झापामा घण्टीको आवाज बेसी सुनिएको बताए । ‘एमाले र घण्टीकै चर्चा छ । अलि बेसी घण्टी बजेको सुनिन्छ’, निरौलाले भने ।
‘हामीहरूबीच कुरा हुँदा बालेन नै अगाडि देखिन्छन्, ओलीलाई पुग्यो । ४ खेप त यहीँबाट चुनाव जिते’, बरालले भने, ‘पुरानाले जितेर के भयो देशलाई ऋण बोकाए । अबलाई नयाँलाई हेर्नुपर्छ ।’
हेर्नुहोस् १२९ मतदातासँग भिडियोमा गरिएको कुराकानी [भाग-४]
दमक ९ का सीताराम थापाले अहिलेसम्मका सरकारले जनता झुक्याउने काम गरेकोले यसपटक दलका कार्यकर्ता पनि झण्डा छाडेर परिवर्तनको पक्षमा लागेको बताए । ‘यसपटक नयाँ हेर्छौं नयाँ पनि राम्रो भएन भने भोलिको दिनमा अर्को शक्ति जन्मेला’, थापाले भने, ‘जहाँसम्म लाग्छ बालेन शाहले जनतालाई धोका दिँदैनन् ।’
झापा ५ का अर्का मतदाता नरबहादुर श्रेष्ठले यसपटक नयाँलाई दिने भनेर निर्णय गरिसकेको बताए । ‘पुरानाको कुरा हामीलाई सुन्न पनि छैन, नयाँले पनि गरेनन् भने ५ वर्षपछि हेरौँला’, श्रेष्ठले भने ।
भ्यूटावरले छोएन मतदातालाई, उल्टै विरोध !
केही दिन पहिले ओलीले मतदाताको आँगनमा पक्की बाटो पुर्याएको दाबी गर्दै अरू के चाहियो भनेर प्रश्न गरेका थिए । उनले दमकमा भ्यूटावर र सभागृह देखाएर विकास गरेको बताएका थिए ।
तर ओलीले गरेको विकाससँग झापाकै मतदाता सन्तुष्ट छैनन् । ‘बिजनेस पार्क’ बनाउन भनेर ठड्याइएको भवनमा माकुरोले जालो लगाउन थालेको छ । सम्भाव्यता अध्ययन नै नगरी जंगलको बिचमा लगेर भ्यूटावर बनाइएको भन्दै स्थानीय आक्रोशित छन् ।
दमक ९ का हरिबहादुर बस्नेत दक्षिणी भेगका जनतालाई त्यो भ्यूटावरले कुनै सरोकार नराख्ने बताए । ‘त्यो नचल्ने भ्यूटावर हामीलाई के काम ? ऊ: माथि चुरेमा गयो भने जम्मै दमक देखिन्छ’, बस्नेतले भने, ‘हामीलाई त यहाँको जग्गा रोक्का भएको फुकाइदिन पर्यो भनेर गएको सुनुवाइ भएन ।’

दमकको सभागृह नजिकैको टोलमा बस्ने घनश्याम थापाले जनतालाई नछुने विकासको कुनै अर्थ नभएको बताए । ‘राज्यको खर्चबाट यस्तो ठाउँमा ल्याएर सभागृह बनाइयो, बनेको ४ वर्ष हुन थाल्यो यहाँ एउटै कार्यक्रम भएको थाहा छैन । अहिले सेना आएर बसेको छ’, थापाले भने ।
दमक नगरपालिका ९ मा २८ करोड रूपैयाँ खर्च गरेर बनाइएको सभाहल काम नलाग्ने अवस्थामा पुगेको छ । ३ वर्षअघि नै निर्माण भएको सभाहलमा कुनै पनि ठूला कार्यक्रम भएका छैनन् । चुनावको बेला सेनाको अस्थायी ब्यारेक बसेको छ ।
गौरादह ४ का वीरेन्द्र ताजपुरिया ओलीले दमकमा गरेको विकासले यहाँका जनतालाई कुनै सरोकार नराखेको दाबी गर्छन् । ‘त्यो भ्यूटावरले के काम ? जनताका समस्या एकातिर छन, त्यो सम्बोधन गर्नु छैन, हामीलाई किन चाहियो भ्यूटावर ?’, उनले प्रश्न गरे ।
गौरीगञ्जकी राधा महतोले जस्तोसुकै आश्वासन दिए पनि यसपटक मतदाताले ओलीलाई भोट नदिने दाबी गरिन् । ‘मानिसहरू यसपटक नयाँलाई दिने निर्णयमा पुगिसकेका छन्, कहिले मोहर लगाउन पाइन्छ भनेर कुरिरहेका छन्’, महतोले भनिन् ।

गौरीगञ्ज ३ का हिक्मत विष्टले यसपटक नयाँलाई दिने बताए । ‘पुरानालाई हेरेको धेरै भयो, उनीहरूले ठाउँ छाडेनन् । ओलीलाई मात्र मैले ४ पटक भोट हालेँ । मेरो छोरो विदेश जाने भइसक्यो, कहिलेसम्म ओलीलाई भोट दिने ?’ विष्टले भने ।
दमक ९ का टेकबहादुर मोहरा युवाले घण्टी घण्टी भनिरहे पनि आफू नयाँको विश्वसमा नरहेको बताउँछन् । ‘क्या हो क्या हो, नयाँको त्यति विश्वास लागेन । त्यही भएर एमालेलाई नै भोट दिने’, मोहराले भने ।
कसैलाई गाली नगरी मन जित्ने बालेन रणनीति
ओलीले रास्वपा उम्मेदवारलाई ‘सिंहदरबार जलाएका उम्मेदवार’ भनेर लान्छित गरे पनि बालेनले ओलीलाई गाली गरेका छैनन् । त्यही कुराले झापाका मतदाताको मन जितेको छ ।
झापा ५ कै मतदाता दीपिका निरौलाले बालेनको शैलीले युवाहरू प्रभावित बनेको बताइन् । ‘इटहरीमा होस् कि धनगढीमा उहाँले खाली विकासको कुरा गर्नुभएको छ । कसैलाई गाली गर्नु भएको छैन । आफ्नो भिजन राख्नु भएको छ’, निरौलाले भनिन्, ‘बालेनको शैलीले हामी फ्यान भएका छौं ।’ बालेनकी पत्नी सविना पनि भोट माग्दै आएको र नम्र बोलेको उनले बताइन् ।

रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका बालेन देशका अन्य भागको चुनावी प्रचारमा गइरहेको समयमा पत्नी सविना चुनाव प्रचारमा हिँडेकी छिन् । दमकसँगै जोडिएको उर्लाबारी माइती भएकी सविना पूर्वेली लवजमा मतदातासँग कुरा गरिरहेकी छिन् ।
दमक ९ की भगिमाया गहतराजले यसपटक बालेनलाई भोट दिने बिचार गरेको बताइन् । ‘बालेनलाई भोट दिए देश बनाउँछु भनेका छन्, हामी पनि एकपटक विचार गर्ने सोंचमा छौं’, गहतराजले भनिन् ।
बालेन जहाँ जान्छन् त्यहीँ ठाउँमा युवाहरूको आकर्षण देखिएको छ । दमक भ्यूटावर नजिककै भेटिएका सुमन पोखरेल युवा मात्र नभइ महिला र बृद्धबुद्धा पनि बालेनबाट निकै आशावादी रहेको बताए । ‘बालेन आउने भनेपछि बृद्धबृद्धा पनि आफैं सडकमा आएर स्वागत गरेका छन्, बालेन धेरै बोल्नु हुन्न । मुस्कुराएर जानुहुन्छ’, पोखरेलले भने ।
एमालेका कार्यकर्ताले बालेनले चुनाव जिते सुकुम्बासीलाई उठाउने भनेर प्रचार गरिरहे पनि स्वयं सुकुम्बासी बस्तीका मानिसले त्यो कुरा पत्याएका छैनन् । झापाका गरिब बस्तीमा बालेन क्रेज उस्तै छ । रास्वपा पार्टीको नाम थाहा नभएका मतदाता पनि घण्टी र बालेन भनिरहेका छन् ।

झापा ५ की अर्की मतदाता दुर्गा बस्नेतले नयाँलाई भोट दिने विचारमा रहेको बताइन् । ‘पुरानाले धेरै आश्वासन दिए तर काम गरेनन् । हाम्रो क्षेत्रमा जमिन रोक्का गरिएको छ । त्यो समस्या बालेनले सम्बोधन गर्छु भन्नु भएको छ’, बस्नेतले भनिन् ।
दमक चन्द्रमा चोककी लक्ष्मी विश्वकर्माले मतदाता सबैको मुखमा यसपटक घण्टीलाई भोट दिएर बालेनलाई जिताउने भनिरहेको बताइन । ‘पुरानाले कति गरे देखिएकै छ । हाम्रो टोलका जेनजी भाइबहिनी र युवाहरूले एसपटक नयाँलाई हेरौ भनिरहेका छन्’, विश्वकर्माले भनिन् ।
झापा ५ मा नेपाली कांग्रेसबाट मन्दरा चिमोरिया, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला तथा श्रम संस्कृति पार्टीबाट समीर तामाङ उम्मेदवार छन् । उनीहरूले पनि कसैलाई गाली नगरी भोट मागिरहेका छन् ।
के भन्छन् अन्य मतदाता ?
वर्षौँदेखि एउटै पार्टी र अनुहारलाई साथ दिँदै आएका झापा मतदाताहरू अहिले नयाँ विकल्प र परिवर्तनको तीव्र खोजीमा देखिएका छन् । यो कुनै सामान्य असन्तुष्टि मात्र नभई एउटा संगठित ‘हुरी’ जस्तै बनेर आएको स्थानीयको बुझाइ छ । विशेष गरी रास्वपाका वरिष्ठ नेता बालेन शाहले ल्याएको परिवर्तनको लहर र राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्नले यहाँका गाउँबस्तीसम्म गहिरो प्रभाव पारेको छ ।

कमल गाउँपालिका–१ का गंगा थापाको परिवार एउटा प्रतिनिधि उदाहरण बनेको छ । थापाको ५ जनाको परिवारले यसपटक घण्टीमा मतदान गर्ने सामूहिक सल्लाह गरेका छन् । ‘काठमाडौंमा बालेन शाहले जसरी काम गरेर देखाए, त्यसले उनीहरूमा देशै परिवर्तन हुन्छ भन्ने आशा जगाएको छ । यसअघि केपी शर्मा ओलीलाई मतदान गर्दै आएकी गंगाले भनिन्, ‘ओलीले विकास नगर्नुभएको त होइन, तर अब उहाँ बुढो हुनुभयो । नयाँ जोस र जाँगर भएको नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्छ ।’
यस्तै भावना गौरादह नगरपालिका–१ का शेर बहादुर खड्काको पनि छ । उनले युवाहरूले परिवर्तन चाहेको र आफू पनि त्यसैको पक्षमा रहेको प्रस्ट पारे । खड्काका अनुसार पुराना नेताहरूलाई ३५–३६ वर्ष हेरिसकिएको छ र अब एकपटक ५ वर्षका लागि नयाँलाई हेर्नैपर्छ ।
‘अहिले त आँधीहुरी र तुफान आएको छ, यसलाई अब कसैले रोकेर रोकिँदैन र छेकेर छेकिँदैन,’ खड्काले भने, ‘नेताहरूले जनतासँग गरेका कबोल र प्रतिबद्धताहरू जसरी पनि पूरा गर्नुपर्छ ।’

गौरादह–२ का अरकेश कुमार शाह पनि परिवर्तनकै पक्षमा खुलेर उभिएका छन् । केपी ओलीलाई अब विश्राम दिनुपर्ने र नयाँलाई अवसर दिनुपर्ने भन्दै उनी बालेनको पक्षमा लागेका हुन् । परिवर्तनको यो लहरमा वर्षौँदेखि कम्युनिस्ट राजनीतिमा होमिएका पुराना कार्यकर्ताहरू पनि अचम्मैसँग सामेल भएका छन् ।
गौरादह–५ का भीम बहादुर ढुङ्गाना यसको एउटा ज्वलन्त उदाहरण हुन् । २०४२ सालदेखि वामपन्थी राजनीति शुरू गरेका ढुङ्गाना २०५४ सालमा नेकपा एमालेबाट तेह्रथुमको फोदाप गाउँपालिकामा वडा अध्यक्ष निर्वाचित भएका थिए । बीचमा उनले तेह्रथुममै तत्कालीन नेकपा माओवादीको ‘जनसरकार प्रमुख’ भएर पनि काम गरे । एमालेले धेरै सपना बाँडेको तर ती सबै झुटो सावित भएको भन्दै उनले घण्टी बजाएर एमाले छाडेको घोषणा गरे। एमालेमा दक्ष र विद्वानको खाँचो रहेको उनको बुझाइ छ ।
गौरीगञ्ज–६ का खेमराज (वीरबल राई) पहिले एमालेकै कट्टर समर्थक थिए । तर अहिले उनको सोंच बदलिएको छ । ‘यसपटक राम्रोलाई छानौं, हाम्रोलाई होइन भन्ने अभियानमा हामी छौं,’ उनी भन्छन् । युवाहरूको जोस र जाँगरले मात्र देश विकास हुने विश्वास राख्ने राई, केपी ओलीको कामप्रति सकारात्मक भए पनि उनको बोल्ने शैली र उखानटुक्काबाट दिक्क भएको बताउँछन् ।

गौरादह–७ का सिटी सफारी चालक बद्रीबहादुर भुजेल पनि पुराना पार्टी र बुढा उम्मेदवारका कारण नयाँ पुस्ताप्रति आकर्षण बढेको ठान्छन् ।
ओलीको गृहनगर दमकमा पनि नयाँको पक्षमा रोचक दृश्य देखिएका छन् । दमक–४ का पूर्णबहादुर बास्तोलाको परिवार तीन पुस्तादेखि नेकपा एमालेमा आबद्ध छ । तर यसपटक उनीहरूको मत एमालेलाई जाँदैन । बास्तोला भन्छन्, ‘हाम्रो परिवारले एमाले पार्टी नै छाडेको त होइन, तर यसपटक मत परिवर्तन गर्ने निर्णय गरेका छौं। यो पार्टी परिवर्तन होइन, मत परिवर्तन मात्र हो ।’
यस्तै तर्क दमक–५ की राधा राउतको पनि छ । उनी भन्छिन्, ‘बुढा नेताहरूलाई अब पालो दिनुपर्छ । पार्टी नछाडे पनि यसपटक मत परिवर्तन गरेर नयाँलाई हेर्ने विचार छ ।’
दमक–९ हिमाली टोलकी कमला सेढाईंका अनुसार अहिले टोलभरी घण्टीकै चर्चा छ । केपी ओलीले आफ्नो क्षेत्रमा काम गरे पनि यसपटक घण्टीमा मतदान गर्ने अठोट उनले लिएकी छन् । सोही टोलकी रञ्जना ढकालले भने सबैले घण्टीलाई हेर्ने भनेकाले आफू पनि त्यतै लागेको बताइन् । उनले केपी ओलीले आफ्नो टोलमा विकास नगरेको र आफैंले पैसा तिरेर बाटो बनाउनुपरेको गुनासो गरिन् ।
दमक–९ कै घनश्याम थापा त देशमा हावाहुण्डरी आएजस्तै घण्टीको लहर देखिएको बताउँछन् । देशले बालेन जस्तै सरकार खोजेकाले आफूहरू त्यसमा लागेको उनले बताए ।

दमक–४ का पुष्प भट्टराईले ३५ वर्षदेखि केपी ओलीलाई भोट हाले । तर अहिले उनी निराश छन् । ‘बा (ओली) अब बुढो हुनुभयो। जेनजी आन्दोलनमा त्यत्रो युवाहरू मर्दा पनि उहाँले केही बोल्नुभएन,’ भट्टराईले भने, ‘त्यसैकारण पुराना पुस्तालाई हटाएर नयाँ पुस्तालाई सहयोग गर्ने हो ।’ कमल–१ का चित्रबहादुर खड्काका अनुसार टोलमै सल्लाह गरेर नेपाली कांग्रेस र एमाले जस्ता पुराना पार्टीलाई बिदा गर्ने निर्णय भएको छ ।
दमक–६ का डिल्ली राम कोइराला, जो पूर्व एमाले निकट कर्मचारी संगठनको माइ–पूर्व संयोजक समेत हुन्, उनी पार्टीको वर्तमान अवस्थाप्रति निकै चिन्तित र आक्रामक देखिन्छन् । कोइरालाको विश्लेषणमा संसद् पुन:स्थापनापछि केपी ओलीले चालेका कदमहरूले एमालेलाई ओरालो यात्रामा पुर्याएको हो ।
नेकपाको विभाजन र जेनजी आन्दोलनले थप समस्या पारेको भन्दै उनले ओलीले एमालेलाई कमजोर बनाएर आफू पनि सकिने बाटो रोजेको आरोप लगाए । ‘यदि जेनजी आन्दोलनको नैतिक जिम्मेवारी मात्र लिएको भए पार्टीको अवस्था यस्तो हुने थिएन,’ उनले थपे।
परिवर्तनको यो ज्वारभाटामा दमककै समिर श्रेष्ठ पनि सामेल छन् । ओलीले एउटा क्षेत्रको मात्र परिवर्तन गरेको तर पूरै देश परिवर्तन गर्न नसकेकाले आफू परिवर्तनको पक्षमा उभिएको उनी बताउँछन् ।
यद्यपि, ओलीले गरेका कामहरूका कारण अझै पनि केही मानिसले उनलाई भोट हाल्ने र माहोल राम्रै रहेको उनको बुझाइ छ । केही मतदातामा अझै अन्योल र पुरानै नेतृत्वप्रति विश्वास पनि जीवितै छ । गोविन्द प्रसाद फुयाँल भन्छन्, ‘केपी ओलीले पुल र सडक बनाउने जस्ता राम्रा काम गर्नुभएको छ । बालेनले पनि राम्रै काम गरेका छन् ।’ उनको ठम्याइमा बुढापाकाहरू अझै केपी ओलीप्रति र युवाहरू नयाँ शक्तिप्रति आकर्षित देखिएका छन् ।

दमक ८ कै पत्रलोचल पोख्रेल भने केपी ओलीले केही समय अगाडि गरेको भाषण सम्झँदै भन्छन् ‘उहाँले नै एकपटक एउटा दललाई रत्नपार्कको सिसीमा पाइने भन्दै व्यंग्य गर्नु भएको छ यसपटक यो क्षेत्रमा पनि एमाले सिसीमा पाइने जस्तै मात्रै छ ।
दमक १ कि छुनु उप्रेतीले भने तारामा प्रत्यक्षतर्फ मतदान गर्ने बताइन् । दमक २ का शुकमान विश्कर्माले हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीमा मतदान गर्ने बताए । कदमकै तागिन लिम्बुले पनि श्रमसँग जोडिएकाले माटो नै रोज्ने बताए । दमकै मन्दीप राईले श्रम नगरी देश नबन्ने भएकाले माटोलाई रोज्ने बताए ।
दमक १ का विवेक ओली भने केपी ओलीले यसपटक पनि जित्नेमा ढुक्क छन् । चुनाव जितेपछि बालेन यहाँ नआउने र बा (केपी ओली)लाई सधैँ भेट्ने गरेकाले यहाँका मतदाताले आफूले भेट्ने प्रतिनिधिलाई छान्ने विवेक बताउँछन् ।
दमक १ कै सन्त कुमार थेबेले खहरे खोलाले बगाउने उदाहरण दिँदै अन्य दल खहरे भएकाले माटोका उम्मेदवारले जित्ने बताए । दमक १ कै संगीता न्यौपानेले छोराछोरीको भविष्यका लागि पुरानालाई त्यागेर नयाँलाई हेर्न लागिएको बताइन् ।

‘मेरो श्रीमान् लामो समयदेखि विदेशमा हुनुहुन्छ’, उनले भनिन् ‘श्रीमान् पनि परिवारसँग छुट्टिएर बस्नुपरो । मेरा छोराछोरीले सबै सँगै बस्न पाऊन् भन्ने आशले नयाँलाई हाल्न खोजिएको हो ।’
वीरबहादुर बस्नेतले भने प्रत्यक्षमा केपी र समानुपातिकमा घण्टीलाई भोट हाल्ने बताए । दमक-२ का प्रेम कुमारी रिजाल र रमा रिजालको परिवार नै कांग्रेसको रुख चिह्नमा मतदान गर्दै आएका थिए । यसपटक पनि सबै परिवार पहिला जस्तै एउटै चिन्हमा मत हाल्दैछन् । पार्टी नभई मत परिवर्तन गरेर घण्टीमा मत दिने उनीहरू बताउँछन् ।