०८ साउन २०८३, शुक्रबार

मध्य–पूर्वको तनावले नेपालमा आयोजना हुने विश्वकप लिग–२ प्रतियोगिता स्थगित

फागुन २०, २०८२
काठमाडौं
मध्य–पूर्वको तनावले नेपालमा आयोजना हुने विश्वकप लिग–२ प्रतियोगिता स्थगित
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको नेपालमा आयोजना हुने भनिएको आगामी शृंखला अनिश्चित समयका लागि स्थगित भएको छ ।

उक्त शृंखला मार्च १० तारिखदेखि शुरू हुने तय भएको थियो । पछिल्लो समय मध्य–पूर्वमा देखिएको असहज परिस्थितिका कारण शृंखला अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको बताइएको छ ।

उक्त शृंखलामा नेपालका अतिरिक्त ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुने तय भएको थियो । लिग–२ अन्तर्गतको यो १८औँ शृंखला हो ।

गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको थियो । आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको थियो ।

अहिले पनि दुवै पक्षले एक–अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । परिणाम स्वरूप मध्य–पूर्व निकै अशान्त बनेको छ । त्यसैले लिग–२ प्रतियोगिताको आगामी शृंखला स्थगित गरिएको हो ।

लिग–२ शृंखलामा आठ टोली सहभागी छन् । तालिकामा ३६ अंकसहित अमेरिका पहिलो, ३० अंकसहित स्कटल्यान्ड दोस्रो र २८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

यसैगरी, २४ अंकसहित ओमान चौथो, २१ अंकसहित क्यानडा पाँचौँ, १९ अंकसहित नामिबिया छैटौँ, १२ अंकसहित नेपाल सातौँ र १० अंकसहित यूएई आठौँ स्थानमा आसीन छन् ।

सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ ।

यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्