
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न भएको भन्दै यसका लागि अहम् भूमिका निर्वाह गर्ने सरोकारवाला पक्षहरूलाई धन्यवाद दिएको छ ।
पार्टी सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन् ।
‘नेपाल सरकारका सम्पूर्ण निकायहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू,सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौं‚’ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तिमार्फत सभापति लामिछानेले अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताले राखेको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।
