
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएपछि सबै क्षेत्रलाई धन्यवाद दिएकी छिन् ।
उनले निर्वाचनमा उत्साहजनक सहभागिताका सँगै ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधान सम्मत निकास दिन सफल भएको भन्दै सबै नेपालीलाई धन्यवाद दिएकी हुन् ।
‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चार माध्यमको जिम्मेवार खबरदारीका लागि धन्यवाद दिन चाहन्छु,’ कार्कीले उल्लेख गरेकी छिन्, ‘आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान छ।’
राष्ट्रपति रामचन्द्र पौडेलले अभिभावकीय भूमिका खेलेको भन्दै उनले कृतज्ञता व्यक्त गरेकी छिन् ।