०३ साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

रास्वपाका थापा र खरेलले गरे रविको रेकर्ड ‘ब्रेक’

फागुन २३, २०८२
बुटवल
रास्वपाका थापा र खरेलले गरे रविको रेकर्ड ‘ब्रेक’

रुपन्देहीका दुई उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रेकर्ड ‘ब्रेक’ गरेका छन् ।

चितवनबाट ‘ह्याट्रिक’ गरेका पार्टी सभापति तथा पूर्वगृहमन्त्री लामिछानेले आम निर्वाचन २०८२ मा पाएको मतभन्दा रुपन्देहीका सुलभ खरेल र डा. लेखजङ्ग थापाको मत धेरै छ ।

लामिछानेले अघिल्लो उपनिर्वाचनमा चितवनबाट सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक विजयी हुँदा ५४ हजार ४०२ मत ल्याएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरे ।

रविले साढे तीन वर्षअघि २०७९ को आम निर्वाचनमा चितवन–२ बाटै ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए । फेरि २०८० मा भएको उपचुनावमा सोही क्षेत्रबाट रवि ५४ हजार १७६ मतसहित जितेका थिए ।

तर, यसपटक रूपन्देही क्षेत्र नम्बर ३ मा डा. थापा ५८ हजार ८१४ मतसहित विजयी भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन् ।

थापाका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले ८ हजार ४३५ मत ल्याउन सके । यो मतान्तर नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो हो । 

यस्तै, क्षेत्र नम्बर–२ मा सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले हराएका छन् । ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे । २०६४ देखि लगातार चुनाव जित्दै आएका पौडेललाई खरेलले ठूलो मतान्तरसहित पराजित गरे ।

भैरहवा निवासी ४८ वर्षीय डा. थापा चिकित्सायात्रालाई थाती राखेर चुनावी मैदानमा होमिएका थिए । २०७९ मा रुपन्देही–३, विजयी राप्रपा नेता दीपक बोहराको निधनपछि तोकिएको उपनिर्वाचनमा थापा रास्वपाबाट उम्मेदवार चुनिएका थिए । 

रुपन्देहीका पुराना बासिन्दा थापा यस क्षेत्रका प्रख्यात चिकित्सक हुन् । निर्वाचित भएपछि डा. थापाले स्वास्थ्य, शिक्षासँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि उद्योग, व्यवसायमा देखिएका समस्या समाधान गर्न पहल गर्ने उनले बताए । 

२०५४ मा जन्मिएका खरेल बुटवल उपमहानगरपालिका–१६ रुपन्देहीका स्थायी बासिन्दा हुन् । खरेलले आफूले जित निकाल्ने बताउँदै आए पनि यति ठूलो मत आउने उनले सोचेका थिएनन् । 

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह रास्वपा प्रवेश गर्दै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणापछि यस क्षेत्रमा रास्वपाको लहर उर्लिएको थियो । 

त्यसको सहज फाइदा खरेललाई हुन पाएको थियो । बालेन शाह ‘रोड सो’ गर्दै बुटवल आइपुग्दा यहाँको भीडले देशभर चर्चा पाएको थियो । 

खरेल नेपाल ल क्याम्पस, काठमाडौंमा पढ्दा एमाले निकट अनेरास्ववियुमा आबद्ध थिए । उनले नेपाल ल क्याम्पसबाट पाँच वर्षे बीए–एलएलबी सकेपछि चार वर्ष वकालत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्