
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोजपुरमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
नेकपा एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग एक हजारभन्दा बढी मतान्तरले पछि परेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई ७ हजार ४४७ मतका साथ पहिलो स्थानमा रहेका छन् ।
उनलाई एमालेका शेरधन राईले ६ हजार ३२९ मतका साथ पछ्याइरहेका छन् । हाल ध्रुवराज र शेरधनबीचको मतान्तर १ हजार ११८ रहेको छ ।
ध्रुवराज केही समय अगाडिसम्म नेकपा एमालेकै प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय थिए । भक्तपुरमा एमालेको महाधिवेशन चलिरहँदा उनी हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । शेरधनसँगको सम्बन्ध बिग्रिएपछि उनले पार्टी परित्याग गरेका थिए ।
यसैगरी, चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका बालकृष्ण थापा ३ हजार ६९८ मतसहित तेस्रो स्थानमा छन् । ३ हजार १७९ मत प्राप्त गरी नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङ चौथो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले २ हजार ८२३ मत प्राप्त गरेका छन् ।