
आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज (आइतबार) आयोजक भारत र न्युजिल्यान्डबीच हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार, साँझ १९:१५ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा शुरू हुनेछ ।
फाइनलमा पुगेका यी दुवै टोलीले फरक विशेषता बोकेका छन् । एकातिर, भारतले यसअघि दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ भने अर्कोतिर, न्युजिल्यान्डले हालसम्म आईसीसी विश्वकप (टी–२० र एकदिवसीय)को उपाधि चुम्न सकेको छैन ।
न्युजिल्यान्ड र भारतमध्ये जुन टोलीले उपाधि जिते पनि इतिहास रच्नेछन् । न्युजिल्यान्डका लागि यो पहिलो उपाधि जित्ने अवसर हो । अर्कोतिर, यसपटक फाइनल जितेमा भारत तीनपटक टी–२० विश्वकपको उपाधि कुम्ल्याउने पहिलो टोली बन्नेछ ।
भारतले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले भारतको टी–२० विश्वकपमा यो १०औँ सहभागिता हो ।
भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । भारतले सन् २००७ मा पहिलो पटक उपाधि कुम्ल्याएको थियो । त्यतिबेला भारतले फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले पराजित गरेको थियो ।
त्यसपछि, भारतले सन् २०२४ मा दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचाल्यो । त्यतिबेला भारतीय टोलीले फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो । यसपटक पनि भारतलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
भारतीय टोली जारी विश्वकपको प्रारम्भिक चरणमा समूह ‘ए’ मा परेको थियो । उक्त समूहबाट चारवटै खेल जितेको भारत पहिलो र तीनवटा खेलमा सफलता हात पारेको पाकिस्तान दोस्रो हुँदै सुपर–८ मा पुगेका थिए ।
भारतले समूह चरणको पहिलो खेलमा अमेरिकालाई २९ रनले, दोस्रो खेलमा नामिबियालाई ९३ रनले, तेस्रो खेलमा पाकिस्तानलाई ६१ रनले र चौथो खेलमा नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो ।
यसैगरी, सुपर–८ चरणमा भने भारतीय टोली एक खेलमा पराजित भएको थियो । सुपर–८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो । बाँकी दुई खेलमा भने भारतीय टोलीले जिम्बाब्वेलाई ७२ रनले र बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गरेको थियो ।
यसैगरी, भारतीय टोलीले सेमिफाइनलमा पनि बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डमाथि सात रनको रोमाञ्चक जीत हासिल गरेको थियो । स्मरण रहोस्, इङ्ल्यान्ड पनि दुईपटक टी–२० विश्वकपको उपाधि उचालिसकेको टोली हो ।
यसपटक, सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यानको सूचीमा इशान किसन पहिलो स्थानमा आसिन छन् । उनले आठ खेलमा ३२.८७ को औसतले कुल दुई सय ६३ रन बनाएका छन् । उनको स्ट्राइक रेट १८९.२० रहेको छ । उनले दुई अर्धशतक पनि प्रहार गरेका छन् ।
सूर्यकुमार यादवले आठ खेलमा ३४.५७ को औसत र १३७.५० को स्ट्राइक रेटमा कुल दुई सय ४२ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् । सन्जु सामसनले चार खेलमा कुल दुई सय ३२ र शिवम दुबेले आठ खेलमा दुई सय नौ रन बनाएका छन् ।
भारतका लागि सर्वाधिक विकेट लिने बलर भने वरुण चक्रवर्ती हुन् । उनले आठ खेलमा कुल १३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन भने केवल सात रन खर्चिएर तीन विकेट हो ।
जसप्रित बुमराहले पनि १० विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन १५ रन खर्चिएर तीन विकेट हो । अर्शदीप सिंहले पनि नौ विकेट लिएका छन् । समग्रमा, यसपटक केवल एक खेल हारेको भारतीय टोली तेस्रो पटक टी–२० विश्वकपको उपाधि जित्ने अभियानमा देखिएको छ ।
यसैगरी, न्युजिल्यान्डले पनि सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । किविज टोलीको पनि विश्वकपमा यो १०औँ सहभागिता हो ।
तर, न्युजिल्यान्ड विश्व क्रिकेटको अभागी टोली हो । सधैं अब्बल प्रदर्शन गरे पनि न्युजिल्यान्डले हालसम्म आईसीसी विश्वकपको उपाधि चुम्न सकेको छैन ।
न्युजिल्यान्ड सन् २०२१ को टी–२० विश्वकपमा फाइनलसम्म पुगेको थियो । त्यतिबेला न्युजिल्यान्डको टोली फाइनलमा छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो ।
यसपटक पनि न्युजिल्यान्डले एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको हो । जारी विश्वकपमा न्युजिल्यान्डले हालसम्म दुई खेलमा पराजय भोगेको छ ।
प्रारम्भिक चरणमा न्युजिल्यान्ड समूह ‘डी’ मा परेको थियो । उक्त समूहबाट दक्षिण अफ्रिका पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै प्रतियोगिताको सुपर–८ चरणमा पुगेका थिए ।
समूहगत चरणको पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।
न्युजिल्यान्डको टोली तेस्रो खेलमा दक्षिण अफ्रिकासँग सात विकेटले पराजित भएको थियो । आफ्नो चौथो खेलमा न्युजिल्यान्डले क्यानडामाथि आठ विकेटको सजिलो जीत हासिल गरेको थियो ।
सुपर–८ चरणबाट अगाडि बढ्न भने न्युजिल्यान्डले ठुलै सँघर्ष गर्नु परेको थियो । सुपर–८ चरणमा न्युजिल्यान्ड र पाकिस्तानको समान तीन–तीन अंक थियो । नेट रन रेटमा पाकिस्तानलाई पछि पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल भयो ।
सुपर–८ चरणमा न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल अनिर्णित अवस्थामा सकिएको थियो । अर्को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले हरायो । अर्को खेलमा न्युजिल्यान्डको टोली इङ्ल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।
खासगरी, दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा न्युजिल्यान्डको प्रदर्शन दर्शनीय थियो । एक खेल पनि नहारी सेमिफाइनलमा पुगेको दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डले नौ विकेटको सजिलो जीत हासिल गरेको थियो । सेमिफाइनलमा किविज ब्याट्सम्यानको प्रदर्शन प्रशंसनीय थियो ।
दक्षिण अफ्रिकाले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२.५ ओभरमै केवल एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । उक्त खेलमा न्युजिल्यान्डको जितमा फिन एलनले केवल ३३ बलमा शतक पूरा गरेका थिए ।
त्यसैले यसपटक न्युजिल्यान्डलाई पनि उपाधिको बलियो दाबेदारको रूपमा हेरिएको छ । जारी विश्वकपमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि फिन एलन नै हुन् ।
फिन एलनले आठ खेलको सात पालीमा ५७.८० को औसत र २०३.५२ को स्ट्राइक रेटमा कुल दुई सय ८९ रन बनाएका छन् । उनले एक शतक र एक अर्धशतक प्रहार गरेका छन् ।
टिम सिफर्टले पनि आठ खेलको सात पालीमा ४५.६६ को औसत र १६१.१७ को स्ट्राइक रेटमा कुल दुई सय ७४ रन बनाएका छन् । उनले तीनवटा अर्धशतक प्रहार गरेका छन् । ग्लेन फिलिप्सले पनि आठ खेलको पाँच पालीमा कुल एक सय ७६ रन बनाएका छन् ।
यसैगरी, न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर रचिन रवीन्द्र हुन् । उनले आठ खेलको ६ पालीमा ११ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर चार विकेट हो । म्याथ्यू हेनरीले पनि नौ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल तीन रन खर्चिएर दुई विकेट हो ।
समग्रमा, हालसम्म आईसीसीको कुनै पनि ठुलो उपाधि चुम्न नसकेको न्युजिल्यान्डलाई यसपटक भने बलियो दाबेदारका रूपमा हेरिएको छ ।
टी–२० अन्तर्राष्ट्रियमा हालसम्म भारत र न्युजिल्यान्डबीच कुल ३० खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा भारतले जितेको छ । न्युजिल्यान्डले भने ११ खेलमा भारतलाई पराजित गरेको छ । एक खेल भने बराबरीमा सकिएको छ ।
नरेन्द्र मोदी स्टेडियममा भने हालसम्म भारत र न्युजिल्यान्डबीच एउटा टी–२० अन्तर्राष्ट्रियमात्र खेलिएको छ । सन् २०२३ मा खेलिएको उक्त खेलमा भारत एक सय ६८ रनले विजयी भएको थियो ।
टी–२० विश्वकपमा भने भारत र न्युजिल्यान्डबीच हालसम्म तीन खेल खेलिएको छ । रमाइलो पक्ष के हो भने, विश्वकपमा खेलिएका तीनवटै खेलमा न्युजिल्यान्डले भारतलाई हराएको इतिहास छ । न्युजिल्यान्डले सन् २००७, सन् २०१६ र सन् २०२१ को विश्वकपमा भारतलाई हराएको थियो ।
यसपटक टी–२० विश्वकपको उपाधि जित्ने टोलीले ३० लाख अमेरिकी डलर पुरस्कार पाउने छ । उप–विजेता टोलीले भने १६ लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ ।