०४ साउन २०८३, सोमबार

२६ वर्षीय खनालको संसदीय यात्रा

फागुन २५, २०८२
नवलपरासी
२६ वर्षीय खनालको संसदीय यात्रा
फाइल फोटो

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चामा आएका छन् ।

२६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल भएका खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौं पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक गरेका छन् ।

कानून अध्ययनकै क्रममा देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको उनले बताए ।

पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उनी तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध बने । विक्रम संवत् २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थियो । जसले उनलाई राष्ट्रिय राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनाएको थियो ।

काठमाडौं बसाइँका क्रममा उनले माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र युवा केन्द्रित नागरिक अभियन्ताको रूपमा पनि उनको संलग्नता देखिएको थियो ।

राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन् । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीति निर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका छन् । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा झन् बढेको थियो ।

कानूनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्‌मार्फत उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको खनालले बताए ।

युवा पुस्ताको आवाज, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ । स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताए ।

गाउँबाट अध्ययन शुरू गरी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका खनाललाई नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित सङ्घीय संसद्‌मा पठाएका छन् ।

निर्वाचन परिणामअनुसार खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार बनेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिस्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्