२३ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

समानुपातिक सांसद कसरी निर्वाचित हुन्छन् ? कति लाग्छ समय ?

फागुन २७, २०८२
काठमाडौं

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फको मतगणनाको काम फिल्डमा सम्पन्न भएको छ । तर, केन्द्रीय प्रणालीमा प्रविष्ट गर्न चाहिँ बाँकी रहेको उनले बताए । उक्त काम पनि बुधबार साँझसम्ममा सम्पन्न हुने उनले बताए ।

‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले गणना कार्य सम्पन्न गरिसकेका छन् । त्यसपछि त्यसलाई तथ्यांक यकिन गरेर हाम्रो सिस्टममा इन्ट्री गर्ने काम भइरहेको छ,’ जीसीले लोकान्तरसँग भने, ‘सायद आज साँझसम्ममा त्यो प्रक्रिया सम्पन्न हुन्छ होला । फाइनल डाटा आज साँझसम्म प्राप्त हुने अनुमान छ ।’

त्यसबाहेक प्रतिवेदन लेखनदेखि अन्य विभिन्न शाखा, महाशाखाको काम पनि एकपछि अर्को गर्दै निरन्तर जारी रहेको उनले बताए । ‘अब ब्याक टु ब्याक काम भइरहेको छ । विभिन्न शाखा, महाशाखाहरूले काम गरिराखेका छन् । प्रतिवेदन लेखन टिमले त्यही आफ्नो काम गरिरहेको छ,’ उनले थपे, ‘प्रत्यक्षतर्फको परिणाम आइसकेको छ । समानुपातिकको पनि आज साँझसम्ममा समग्र परिणाम आइसकेपछि हामीले सिट बाँडफाँटको होमवर्क गर्छौं ।’

समानुपातिकतर्फको सिट बाँडफाँटको होमवर्क गरिसकेपछि प्रतिवेदन आयोगमा पेस हुने उनले बताए । ‘त्यसपछि आयोगले निर्णय गरेबमोजिम हामीले सम्बन्धित दललाई पत्राचार गर्छौं । तोकिएबमोजिम कानून र कार्यविधि अनुसार उम्मेदवारहरूको सिफारिस गरी पठाउन भनेर हामीले लेख्छौं,’ उनले थपे, ‘सम्बन्धित दलले केन्द्रीय समितिको निर्णय बमोजिम पुनः पहिले नै पेस गरेको बन्दसूची बमोजिम नाम सिफारिस गर्छन् । नाम सिफारिस गरेकोमा प्रचलित कानून बमोजिम अथवा समावेशिताको जुन क्लस्टर छ, क्लस्टर नबिग्रिने गरी पठाएमा त्यसलाई हामीले निर्वाचित भएको घोषणा गर्छौं ।’

त्यसरी घोषणा गर्दा त्यसमा कुनै दलबाट त्रुटि भएको रहेछ अथवा प्रचलित समावेशिताको प्रणाली बमोजिम नमिलेको रहेछ भने सच्याउनका लागि पनि फेरि मौका दिइने उनले बताए ।

‘३ प्रतिशत तोकिएको थ्रेसहोल्ड कटाउने दल मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँटमा संलग्न हुने भएको हुनाले ती दलबाट पुनः रिभिजन भएर आउने अवस्था भएमा त्यो समेत प्राप्त गरेपछि बल्ल हामीले निर्वाचित भएको घोषणा गर्छौं,’ उनले थपे, ‘त्यसपछि निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिसकेपछि समग्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिज्यूसमक्ष पेस हुन्छ ।’

यो सबै प्रक्रिया पूरा हुन एक साता अझै लाग्न सक्ने जीसीले जानकारी दिए । ‘किनभने हामीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट डाटा संकलन गर्नुपर्‍यो, फाइनल डाटा आइसकेपछि सिट बाँडफाँट गर्नुपर्‍यो, आयोगले निर्णय गरिसकेपछि सम्बन्धित दललाई पत्राचार गर्नुपर्‍यो’, जीसीले लोकान्तरसँग भने, ‘दलले हामीकहाँ पेस गर्ने, त्यसपछि हामीले त्यसलाई रुजु गर्ने, आवश्यक पर्‍यो भने त्यसलाई रिभिजन गर्ने लगायतको प्रक्रिया गर्दा अझै एक हप्ता चानचुन लाग्छ ।’

जीसीसँग गरिएको कुराकानी :

 

salt training

कमेन्ट गर्नुहोस्