
पाकिस्तान र बंगलादेशबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटपछि सलमान अली आगाको ‘रन आउट’ विवाद निकै चर्चामा छ ।
सामाजिक सञ्जालमा पनि क्रिकेट समर्थकले यस विषयमा आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । केही समर्थक सलमान अली आगाको रन आउट नियमसम्मत भएको बताइरहेका छन् भने केही समर्थक बंगलादेशी खेलाडीले खेल भावना विपरीतको कार्य गरेको आरोप लगाउन व्यस्त छन् ।
यो घटना पाकिस्तानको पालीमा भएको थियो । ३९औं ओभरमा पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवान सलमान अली आगा क्रिजमा थिए । बंगलादेशी टोलीका बलरले फालेको बललाई पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवानले नन स्ट्राइकिङ एन्डतिर खेलेका थिए ।
त्यो बल नन स्ट्राइकिङ एन्डमा रहेका अर्का ब्याट्सम्यान सलमान अली आगाको खुट्टानजिक पुगेको थियो । बंगलादेशी बलर मेहदी हसन मिराज पनि नजिकै थिए । उनले आगाको खुट्टानजिकबाट बल उठाउने प्रयास गरे ।
आगाले पनि मेहदी हसनलाई बल उठाउन सहयोग गरेका थिए । तर, अप्रत्यासित रुपमा बंगलादेशी बलर मेहदी हसनले बल स्टम्पतर्फ फाले र आगा रनआउट भएको ‘अपिल’ गरे । यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको हो ।
खासमा नियमअनुसार पाकिस्तानी ब्याट्सम्यान आगा रन आउट भएकै हुन् । तर, अधिकांश समर्थकले यो घटना खेल भावना विपरीतको कार्य भएको दाबी गरेका छन् ।
रनआउट हुने पाकिस्तानी ब्याट्सम्यान आगाले पनि बंगलादेशी बलर मेहदी हसनको व्यवहारबाट आफू स्तब्ध: भएको बताएका छन् । ‘घटना के हो भन्ने कुरा सबैलाई थाहा छ । मैले मेहदी हसनबाट यस्तो व्यवहारको आशा गरेको थिइन,’ आगाले भनेका छन् ।
उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय २८ रनले हराएको थियो । पाकिस्तानको जितपछि शृंखला पनि १/१ को बराबरीमा पुगेको छ । अब आइतबार हुने तेस्रो खेलले हार–जितको निर्णय गर्नेछ ।
केही समर्थकले यो घटनालाई नेपाली खेलाडी आसिफ शेखसँग पनि जोडिरहेका छन् । आसिफ शेखले चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखलाका क्रममा यस्तै परिस्थितिमा उत्कृष्ट खेल भावना देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट गरेका थिएनन् ।
सोही कारणले आसिफ शेखले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट स्पिरिट अफ क्रिकेट अवार्ड पनि जितेका थिए । उनी यस्तो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली क्रिकेटर पनि हुन् ।