२९ असार २०८३, सोमबार

फेरि पनि भन्छु- आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ : योगेश भट्टराई

चैत १, २०८२
काठमाडौं
फेरि पनि भन्छु- आत्मभत्सर्ना होइन, जमेर आत्मसमीक्षा गरौँ : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्र फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका हुन् । 

भट्टराईले फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको शोकको यस्तो घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी तथा घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको उल्लेख गरेका छन् । तर पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनले गुनासो गरेका छन्।

भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्।

एमालेको एकता जोगाउने, पार्टीलाई बहुआयामिक रूपमा रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः प्राप्त गर्ने जिम्मेवारी सबै एमाले कार्यकर्ताको प्राथमिक कार्यभार भएको उनले बताएका छन्। त्यसका लागि उपयुक्त समयमा स्थापित विधि र प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल तथा बहस गर्नुपर्ने उनको भनाइ छ।

भट्टराईले सामाजिक सञ्जालमा फैलाइने मिसइन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच बन्द गर्न आग्रह गर्दै आत्मभत्सर्ना होइन, गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तो छ उनको स्टाटस
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नुभएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ । 
यस बीचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ । 

पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुन: आर्जन गर्नु हामी सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार हो । यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फ़त तथ्य र तर्कसहित छलफल र बहस गर्न जरूरी छ । 
Misinformation, Disinformation र Hait speech बन्द गरौँ । फेरि पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमीक्षा गरौँ ।

salt training

कमेन्ट गर्नुहोस्