
नेकपा (एमाले)का नेता गुरु बराल अन्ततः तीन दशक लामो ‘चुनावी हार’को शृङ्खला तोड्दै संघीय संसद्मा प्रवेश गर्ने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा शनिबार बसेको सचिवालय बैठकले बराललाई समानुपातिकतर्फको सांसद चयन गर्ने निर्णय गरेको हो ।
एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सिटको अन्तिम सूची तयार पार्ने क्रममा बराललाई समेटेको हो । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली टुङ्ग्याएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
मोरङबाट प्रतिनिधित्व गर्ने बराल प्रत्यक्ष चुनावमा बारम्बार पराजित भए पनि यसपटक पार्टीको ‘सुरक्षित बाटो’बाट सांसद बन्न सफल भएका छन् ।
२०३० सालदेखि राजनीतिमा सक्रिय बरालका लागि संसदीय चुनावमा एकपटक बाहेक सधैं पराजित बन्न पुगे । उनको चुनावी रेकर्ड हेर्दा २०५१ सालको मध्यावधि निर्वाचनमा जितेपछि उनले कहिल्यै सुखद नतिजा आत्मसात गर्न पाएका थिएनन् ।
त्यसयता भएका २०५६ को आमनिर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी पराजित भए । २०७८ मा राष्ट्रियसभा सदस्य बन्ने उनको प्रयासमा पनि ‘भाग्य’ले साथ दिएन । झापाका गोपाल बस्नेतसँग मत बराबर भएपछि गोला तान्दा उनी पराजित हुन पुगेका थिए ।
बरालको राजनीतिक यात्रामा पछिल्लो समय एउटा रोचक विरोधाभास देखिएको छ । भर्खरै सम्पन्न नेकपा (एमाले) को ११ औं महाधिवेशनमा संस्थापन पक्षकै उम्मेदवार हुँदाहुँदै पनि उनी उपाध्यक्ष पदमा पराजित भएका थिए । सुवास नेम्वाङको निधनपछि ओलीले उनलाई उपाध्यक्षमा मनोनीत गरेका थिए, तर महाधिवेशनमा कार्यकर्ताले उनलाई जम्मा १,१३७ मत दिएर अस्वीकार गरे ।
अध्यक्ष ओलीको ‘कोर टिम’का सदस्य मानिने बराललाई मोरङमा पार्टीको विरासत जोगाउन र ओलीलाई गुट निर्माणमा शुरूदेखि नै साथ दिने नेताका रूपमा चिनिन्छ ।
फागुन २१ को निर्वाचनमा मोरङका प्रत्यक्षतर्फका कुनै पन सिटमा एमालेले जित निकाल्न सकेन । बराललाई समानुपातिक सांसद बनाएर एमालेले जिल्लाको प्रतिनिधित्वलाई सन्तुलनमा ल्याउने प्रयास गरेको देखिन्छ ।