२९ असार २०८३, सोमबार

विषम परिस्थितिमा प्रधानमन्त्री भएर काम पूरा गरेँ, अब अरू कुनै मोह छैन : प्रधानमन्त्री कार्की

'ओलीजी चुनाव हार्नुहोला भन्ने सोचेको पनि थिइनँ'
चैत १, २०८२
काठमाडौं
विषम परिस्थितिमा प्रधानमन्त्री भएर काम पूरा गरेँ, अब अरू कुनै मोह छैन : प्रधानमन्त्री कार्की
फाइल तस्वीर

प्रधानमन्त्री सुशीला कार्कीले अनिश्चितता र चुनौतीपूर्ण परिस्थितिका बीच सरकार सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन सफल भएको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको अन्तर्वार्तामा उनले निर्वाचन सम्पन्न भएपछि आफूलाई ठूलो सन्तोष र आनन्द महसुस भएको बताइन्।

उनले सरकारलाई दिइएको प्रमुख जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै सो जिम्मेवारी समयमै पूरा गर्न सकिएकोमा खुसी व्यक्त गरिन्। 'अनिश्चितताबीच पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो। सरकारलाई दिइएको जिम्मेवारी समयमै पूरा गर्न सक्यौँ, त्यसैले ठूलो राहत र आनन्द महसुस भएको छ,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आफूले नेतृत्व सम्हाल्दा धेरै चुनौतीहरू रहेको बताउँदै शुरूआतमा काम गर्न सकिन्छ कि सकिँदैन भन्ने संशय भए पनि अन्ततः आत्मविश्वासका साथ जिम्मेवारी पूरा गरेको उल्लेख गरिन्। 'मनभित्रैदेखि म सक्छु भन्ने भावना आयो। शरीर र ऊर्जा पनि १६–१८ वर्षको जस्तो महसुस भयो,' उनले भनिन्।

जीवनलाई निरन्तर परीक्षाको श्रृंखलासँग तुलना गर्दै उनले अहिलेको परिस्थितिलाई पनि एउटा ठूलो सङ्ग्रामको रूपमा लिएको बताइन्। 'जसरी जीवनमा एकपछि अर्को कक्षाको परीक्षा पास गर्दै अघि बढिन्छ, त्यसरी नै यो पनि जीवनको एउटा परीक्षा थियो। साँच्चै भन्ने हो भने यो मुलुकका लागि एउटा सङ्ग्राम थियो, जसले अन्ततः देशलाई राहत दिएको छ,' कार्कीले भनिन्।

निर्वाचन सम्पन्न गराउने क्रममा आफूले विभिन्न राजनीतिक दलसँग व्यापक संवाद गरेको उनले बताइन्। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख दलका नेतासँग पटकपटक छलफल गरेको उनले जानकारी दिइन्। साथै देशभरका १२५ भन्दा बढी दलका प्रतिनिधिसँग पनि संवाद गरिएको उनले बताइन्।

उनका अनुसार निर्वाचनका लागि वातावरण बनाउन दैनिक रूपमा धेरै बैठकहरू आयोजना गरिएको थियो। 'कहिलेकाहीँ एकै दिन १४ वटा बैठकसम्म गरियो। धेरै पटक राति २–३ बजेसम्म बसेर छलफल गरेका छौँ। हरेक दिन पाँच–दस वटा बैठक गरेर वातावरण बनाउने प्रयास गरियो,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले केही राजनीतिक नेताबाट कडा आलोचना र अपमानसमेत सहनुपरेको उल्लेख गरिन्। राष्ट्रपति कार्यालयमा भएको एक छलफलमा आफूलाई ‘गेटआउट’ भनिएको र प्रधानमन्त्री बन्न नदिने चेतावनी समेत सुन्नुपरेको उनले बताइन्। तर देशको जिम्मेवारीका कारण आफूले त्यस्ता व्यवहार सहेर पनि काम जारी राखेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचन परिणामबारे आफूले पनि केही अप्रत्याशित घटना देखेको बताइन्। विशेषगरी केपी शर्मा ओली पराजित हुने सम्भावना आफूले कल्पना नगरेको उनले उल्लेख गरिन्। 'अहिलेको मतपरिणाम युवाको हो । जेनजी आन्दोलनको असर पनि हो । परिर्वतनको चाहना पनि हो । तर पुराना दलले पनि आत्तिनुपर्दैन । नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ । उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो । अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ,' उनले भनिन्, 'राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन् । वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन् । तपाईंलाई भोट दिन्छन् भनेको थिएँ । त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिएन ।' 

प्रधानमन्त्री कार्कीका अनुसार नयाँ सरकारले सबैभन्दा पहिला युवापुस्ताको आन्दोलनबाट उठेका मागहरू सम्बोधन गर्नुपर्नेछ। उनले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र रोजगारी सिर्जना गर्ने तीन प्रमुख एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उनले अब भने निजी जीवनमा फर्किने इच्छा व्यक्त गरिन्। 'मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेँ । अब म पुरानै निजी दैनिकीमा फर्किंन्छु,' उनले भनिन्, 'अब अरू कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्