
मध्यपूर्व र पश्चिम एशियामा चुलिँदै गएको युद्धको प्रत्यक्ष असर नेपालसम्म देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेको छ।
निगमले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ।
तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अत्यधिक बढेपछि इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने दबाब थियो। यद्यपि, आम उपभोक्ता र सार्वजनिक यातायात क्षेत्रमा पर्न सक्ने चर्को आर्थिक भारलाई मध्यनजर गर्दै निगमले मूल्य स्थिरीकरण कोषको प्रयोग गरी न्यून दरमा मात्र मूल्य वृद्धि गरेको जनाएको छ।
खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढेको भए पनि हाललाई यसको बिक्री मूल्यमा कुनै फेरबदल नगरिएको निगमले जनाएको छ।
नयाँ मूल्य निर्धारण पश्चात् काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ। त्यसैगरी, पहिलो वर्गका क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज आदि) मा पेट्रोल १६९.५० र डिजेल १४९.५० रुपैयाँमा उपलब्ध हुनेछ। दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १७१ र डिजेलको १५१ रुपैयाँ तोकिएको छ।
निगमले विगतको अनुभव स्मरण गर्दै वि.सं २०७९ को रुस-युक्रेन युद्धका बेला बेहोर्नु परेको आर्थिक संकटको समेत चर्चा गरेको छ। त्यसबेला आईओसीलाई बुझाउनु पर्ने बक्यौता २४ अर्ब पुगेको र सरकारबाट ऋण लिएर आपूर्ति व्यवस्था मिलाउनु परेको दुःखद अवस्थालाई मध्यनजर गर्दै अहिले समयमै सचेत हुनुपरेको निगमको तर्क छ।
हालको मूल्य वृद्धि पछि पनि निगमलाई १५ दिनमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
सार्वजनिक सवारी साधन र ढुवानीमा प्रयोग हुने डिजेलको मूल्यमा अधिक वृद्धि भए तापनि उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न र सार्वजनिक यातायातलाई सहज बनाउन डिजेलमा तुलनात्मक रूपमा कम मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले यस विषम परिस्थितिमा उपभोक्ताहरूलाई धैर्यता राख्न र सहयोग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने बित्तिकै नेपालमा पनि तत्कालै मूल्य घटाउने प्रतिबद्धता व्यक्त गरेको छ।