०६ साउन २०८३, बुधबार

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी, उडान सेवा अस्थायी रूपमा स्थगित

चैत २, २०८२
काठमाडौं
ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी, उडान सेवा अस्थायी रूपमा स्थगित

संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी भएको छ । जसका कारण विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ ।

दुबई मिडिया अफिसका अनुसार विमानस्थल आसपास ड्रोनसँग सम्बन्धित घटनाबाट आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिन अधिकारीहरू सक्रिय रूपमा काम गरिरहेका छन् ।

इरानको राज्य–सम्बद्ध प्रसारक प्रेस टिभीले जनाए अनुसार इरानको मिडिया अपरेसन सेन्टरले दुबईका केही क्षेत्र तथा कतारको राजधानी दोहाका बासिन्दालाई आगामी केही घण्टामा सम्भावित आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

यो चेतावनी इरानका विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरू इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको पर्याप्त प्रमाण रहेको दाबी गरेपछि आएको हो । 

उनले संयुक्त अरब इमिरेट्सबाट मिसाइल प्रहार गरेर इरानको तेल निर्यात केन्द्र खार्ग आइल्यान्डलाई लक्षित गरिएको आरोप लगाएका छन् ।

यसअघि नै इरानले संयुक्त अरब इमिरेट्सका मध्यपूर्वकै व्यस्त बन्दरगाहसहित तीनवटा बन्दरगाह क्षेत्र खाली गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । 

अमेरिका र इजरायलसँगको युद्ध तेस्रो सातामा प्रवेश गरेपछि इरानले पहिलोपटक छिमेकी देशका अमेरिकी नभएका सम्पत्तिलाई समेत खुला रूपमा निशाना बनाउन सक्ने चेतावनी दिएको हो ।

तेहरानले अमेरिकाले संयुक्त अरब इमिरेट्सका बन्दरगाह, घाट तथा लुकेर बस्ने स्थान प्रयोग गरेर खार्ग आइल्यान्डमाथि आक्रमण गरेको आरोप लगाएको छ, यद्यपि यसबारे कुनै प्रमाण भने सार्वजनिक गरिएको छैन । इरानले अमेरिकी सेना रहेको बताइएका क्षेत्रबाट सर्वसाधारणलाई टाढा रहन पनि आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्