०३ साउन २०८३, आइतबार
नेतृत्व संकट गहिरिँदै

इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा प्रमुख र अर्धसैनिक कमाण्डर मारिए

चैत ४, २०८२
काठमाडौं
इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा प्रमुख र अर्धसैनिक कमाण्डर मारिए

इरानले देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको मृत्युको पुष्टि गरेको छ । बीबीसी फारसीका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनी, उनका छोरा, परिषद्का उप-सुरक्षा प्रमुख र उनका अंगरक्षक पनि मारिएको पुष्टि गरेको हो । 

यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबारको आक्रमणमा लारिजानीको मृत्यु भएको दाबी गरेका थिए। लारिजानी गत शुक्रबार तेहरानमा भएको कुद्स डे मार्चमा देखिएका थिए।

इजरायली मिडिया रिपोर्टहरूले अली लारिजानी र उनका छोरा एउटा अपार्टमेन्टमा रहेको बर्ला उनीहरूमाथि आक्रमण भएको बताएका छन् । इजरायली रक्षामन्त्रीले अर्का शीर्ष सुरक्षा अधिकारी र बसिज कमाण्डर गुलाम रेजा सुलेमानीलाई पनि मारेको बताए । 

अली लारिजानी अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हत्या भएदेखि नै खुलेआम बोलिरहेका थिए । अली लारिजानीलाई अन्तिम पटक मार्च १३ मा तेहरानमा कुद्स डे मार्चको क्रममा सार्वजनिक रूपमा देखिएको थियो । एक दिन अघि, उनले सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खिल्ली उडाएका थिए।

अली लारिजानीले हालैका हप्ताहरूमा केही धेरै कठोर बयान दिएका थिए, तर वर्षौंदेखि उनलाई सबै पक्षहरू बुझ्ने प्रयास गर्ने लचिलो व्यक्तिको रूपमा हेरिन्थ्यो । सायद यसैकारण उनलाई वार्ता गर्न सकिने व्यक्तिको रूपमा पनि हेरिएको थियो ।

अली लारिजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्। उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसूद पेजेश्कियानले यो पदमा नियुक्त गरेका थिए । उनलाई यस परिषद्मा इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको प्रतिनिधिको रूपमा पनि नियुक्त गरिएको थियो ।

इरानी मिडियाले उनलाई सर्वोच्च नेताको सल्लाहकारको रूपमा पनि वर्णन गर्दछ । उनले मे २००८ देखि मे २०२० सम्म १२ वर्षसम्म इरानी संसदको सभामुखको रूपमा सेवा गरेका थिए ।

उनका भाइ, सादेघ लारीजानी पनि इस्लामिक गणतन्त्रका एक प्रमुख व्यक्तित्व हुन्। उनी एक्सपेडिएन्सी काउन्सिलको नेतृत्व गर्छन्, जुन संसद र अभिभावक परिषद् बीचको विवादमा अन्तिम निर्णय लिने शीर्ष निकाय हो ।

लारिजानी इजरायली हवाई आक्रमणमा मारिएपछि देशको नेतृत्व संकट अझ गहिरिएको छ । उनी सैन्य कमान्डर नभए पनि राष्ट्रिय सुरक्षा र कूटनीतिक निर्णयहरूमा प्रमुख भूमिका खेल्थे । यसअघि सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको हत्या भएपछि लारिजानीले लामो युद्धका लागि तयार रहनुपर्ने संकेत दिएका थिए । उनको मृत्युसँगै पछिल्ला केही हप्तामा अन्य वरिष्ठ अधिकारीहरूको पनि मृत्यु भएको छ, जसले इरानको नेतृत्व संरचना कमजोर बनाउने प्रयास देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्