२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले भने- चुनाव नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

चैत ४, २०८२
काठमाडौं
प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले भने- चुनाव नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव भएका कारण देश अर्को ठूलो दुर्घटनामा जानबाट जोगिएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटमा नेकपा संयोजक प्रचण्डले चुनाव सफल बनाएको भन्दै सरकारको प्रशंसा गरे ।

‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ’, प्रचण्डले प्रधानमन्त्री कार्कीलाई भने, ‘हामीले शुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं ।’ 

जवाफमा प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिइन् । 

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनीहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

null

‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ’, प्रधानमन्त्री कार्कीले भनिन् । 

भेटमा पूर्वप्रधानमन्त्री नेपालले कार्कीले सरकारको नेतृत्व गरेपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास रहेको बताएका छन् । 

‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर पछि तपाईंले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो । त्यस कुराले हामी सबै आत्तिएका थियौं । तपाईं आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो’, नेपालले भने ।

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको नेकपा नेताहरूको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्