२४ जेठ २०८३, आइतबार
फुटबलमा गोलमाल

एन्फा राष्ट्रिय लिगमा नियमविपरीत विदेशी खेलाडी भर्ती, अगाडि बढ्यो छानबिन

‘एन्फा अध्यक्षको फोन उठेन, आवश्यक परे विभागमै बोलाउँछौं’
चैत ४, २०८२
काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंमा जारी ‘एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता’मा नियमविपरीत विदेशी खेलाडीलाई खेलाइएको विषयमा सम्बन्धित निकायहरूले छानबिन प्रक्रिया अगाडि बढाएका छन् ।

राष्ट्रिय लिगमा सहभागी विभिन्न क्लबले नियमविपरीत विदेशी खेलाडीलाई खेलाइरहेको भन्दै उजुरी परेपछि छानबिन अगाडि बढाइएको हो ।

एन्फा लिगमा १७ वटा क्लबको सहभागिता रहेको छ । त्यसमध्ये तीन विभागीयबाहेक अधिकांश क्लबबाट विदेशी खेलाडीले खेलिरहेका छन् ।

पर्यटक भिसामा नेपाल घुम्न आएका विदेशीलाई खेलाडीका रूपमा राष्ट्रिय लिगमा सहभागी गराइएको उजुरीमा उल्लेख छ । यसरी नेपाली क्लबहरूले विदेशी खेलाडीलाई आफ्नो टोलीबाट खेलाउँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने कानूनी प्रावधान छ । 

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस विषयमा एन्फासँग विस्तृत विवरण माग गरेको छ ।

null

‘नियम विपरीत विदेशी खेलाडीलाई खेलाएको भन्दै उजुरी परेकाले हामीले एन्फासँग विवरण माग गरेका छौँ,’ राखेपअन्तर्गत संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले लोकान्तरसँग भने ।

‘श्रम स्वीकृती/इजाजत लिई वा नलिई कुन–कुन क्लबबाट कुन–कुन देशका विदेशी नागरिक के कस्तो भूमिकामा राष्ट्रिय लिगमा सहभागी छन् ? नामावलीसहित विस्तृत विवरण परिषदमा यथाशीघ्र पेश गर्नु हुन अनुरोध छ,’ राखेपद्वारा एन्फालाई पठाइएको पत्रमा भनिएको छ ।

राखेपले चैत १ गते नै एन्फालाई पत्र पठाए पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको जानकारी पनि राईले दिए । ‘हामीले सबै विदेशी खेलाडीको विवरण माग गरेका छौँ । तर, अहिलेसम्म एन्फाबाट कुनै जवाफ प्राप्त भएको छैन,’ उनले भने ।

नियमविपरीत विदेशी खेलाडी खेलाएको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी परेको हो । त्यसपछि विभागले अनुसन्धान अगाडि बढाउँदै राखेपसँग थप विवरण माग गरेको थियो ।

श्रम ऐन २०७४ को दफा २२, २३ र २४ तथा श्रम नियमावली २०७५ को नियम ७ देखि १५ सम्मको व्यवस्था अनुसार, श्रम इजाजत नलिई विदेशी कामदारलाई काममा लगाउन पाइँदैन ।

गत पुस ३० गतेदेखि शुरू भएको एन्फा राष्ट्रिय लिगको तेस्रो संस्करण अहिले जारी छ ।

प्रतियोगितामा नाइजेरिया, क्यामरुन, घाना, गाम्बिया, उज्बेकिस्तान, आइभरी कोस्ट, प्यालेस्टिन, जापान, बुर्किना फासोलगायतका राष्ट्रका खेलाडी सहभागी छन् ।

अध्यागमन विभागले पनि यस विषयमा छानबिन अगाडि बढाएको छ ।

‘राष्ट्रिय लिगमा नियमविपरित विदेशी खेलाडीलाई खेलाइएको विषय हाम्रो जानकारी पनि आएको छ । हामीले पनि यस विषयमा छानबिन अगाडि बढाएका छौँ,’ विभागका महानिर्देशक रामचन्द्र तिवारीले लोकान्तरसँग भने ।

विभागले एन्फा अध्यक्षलाई सम्पर्क गर्न खोजे पनि उनले फोन नउठाएको तिवारीले बताए ।

‘राष्ट्रिय लिग आयोजना हुँदैछ । हामी आफैँ त्यहाँ जाँदा नराम्रो सन्देश जान सक्छ । त्यसैले हामीले एन्फा अध्यक्षसँग सम्पर्क गर्न खोज्यौँ, तर उहाँले फोन उठाउनु भएन,’ महानिर्देशक तिवारीले भने ।

उनका अनुसार, बिहीबार थप अनुसन्धान अगाडि बढाइने छ ।

‘आवश्यक परे बिहीबार एन्फा अध्यक्षलाई विभागमै बोलाएर जानकारी लिनेछौं,’ उनले भने । जारी एन्फा लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि विदेशी खेलाडीहरू नै अगाडि छन् ।

सुन्नुहोस्, तिवारीसँगको कुराकानी:

 

यसरी श्रम स्वीकृति नलिई विदेशी खेलाडीलाई खेलाउँदा सरकारलाई राजस्व बापत प्राप्त हुने लाखौँ रुपैयाँ घाटा लाग्ने एक अधिकारीले बताए ।

यस विषयमा बुझ्न एन्फा अध्यक्ष र प्रवक्तासँग सम्पर्क गर्न खोज्दा उनीहरूको फोन उठेन ।

salt training

कमेन्ट गर्नुहोस्