
अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो खेलजीवनमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ३८ वर्षीय मेसीले आफ्नो खेलजीवनमा नौ सय गोलको कोशेढुङ्गा पार गरेका हुन् ।
कन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ टोलीबीचको भिडन्तको दोस्रो लेग खेलका क्रममा बिहीबार बिहान मेसीले आफ्नो खेलजीवनको नौ सयौँ गोल पूरा गरेका हुन् ।
मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबल खेल्छन् । इन्टर मियामी र न्यासभिल एससीबीचको उक्त खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
मेसीले निर्धारित समयको सातौँ मिनेटमै उक्त ऐतिहासिक गोल गरेका थिए । यद्दपि, ७४औँ मिनेटमा न्यासभिलका क्रिस्टियन स्पिनोजाले जवाफी गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
नौ सय गोल पूरा गर्ने मेसी दोस्रो खेलाडी बनेका छन् । सन् २०२३ को जुनमा इन्टर मियामीमा आबद्ध भएयता मेसीले क्लबका लागि ९२ खेल खेल्दै ८१ गोल गरिसकेका छन् ।
यो अवधिमा उनले इन्टर मियामीलाई लिग कप र मेजर लिग सकर (एमएलएस) कपको उपाधि पनि चुमाएका छन् ।
मेसीले अर्जेन्टिनी राष्ट्रिय टोली र इन्टर मियामीका अतिरिक्त स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट पनि गोल गरेका छन् ।
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक मेसीले यस्तै उत्कृष्ट प्रदर्शनका कारण कीर्तिमानी रूपमा आठपटक बालोन डी’ओरको उपाधि पनि चुमिसकेका छन् ।
उनी बार्सिलोनाका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । बार्सिलोनाका लागि केवल १७ वर्ष १० महिना सात दिनको उमेरमा गोल गरेपछि अगाडि बढेको उनको यात्रा अहिलेसम्म रोकिएको छैन ।
मेसीले हालसम्म गरेको नौ सय गोलमध्ये सात सय ५५ गोल देब्रे खुट्टाले गरेका हुन् । उनले दायाँ खुट्टाले एक सय ११ र हेडमार्फत ३० गोल गरेका छन् । यसक्रममा उनले पेनाल्टीमार्फत एक सय १२ र फ्रिकिकमार्फत ७० गोल गरेका छन् ।
मेसीले सबैभन्दा बढी सेभियाविरुद्ध २५, एथलेटिक क्लबविरुद्ध २४, एट्लेटिको म्याड्रिडविरुद्ध २३, रियल म्याड्रिडविरुद्ध १७ र लेभान्तेविरुद्ध १६ गोल गरेका छन् ।
मेसीभन्दा बढी गोल समकालीन विश्व फुटबलका अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डोले गरेका छन् । ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २०२४ को सेप्टेम्बरमा क्रोएसियाविरुद्ध गोल गर्दै नौ सय गोल पूरा गरेका थिए ।
म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्वखेलाडी रोनाल्डोले हालसम्म नौ सय ५९ गोल गरिसकेका छन् । यसका अतिरिक्त, सर्वकालीन महान ब्राजिलियन खेलाडी पेलले पनि एक हजार गोल गरेका छन् । तर, पेलेले गरेको सात सय ७८ गोलले मात्र तथ्याङ्कमा औपचारिक मान्यता पाएको छ ।