
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार पेश गरेको चुनावको प्रारम्भिक समीक्षासहितको प्रतिवेदनमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि समावेश छ ।
विश्वप्रकाशले नेतृत्वमा आएको ५० दिनभित्रै दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने तर्क गरेका छन् ।
'राजनीतिमा 'हनिमुन पिरियड' भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको शुरूआति सय दिनलाई । त्यो 'वार्म अप'को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिन्न,' प्रस्तावमा भनिएको छ, 'त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुऱ्याउने कमान्ड छाडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न ।'
उनले ले नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्नुपर्ने उल्लेख गरेका छन् ।
'नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै यो बैठक थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ,' विश्वप्रकाशको प्रस्तावमा भनिएको छ ।
बैठकले यो प्रस्ताव पारित गरेपछि गगनको राजीनामा अस्वीकृत हुनेछ ।