२८ जेठ २०८३, बिहीबार

दुईपटकको अग्रता जोगाउन नसक्दा युनाइटेडले बर्नमाउथसँग अंक बाँड्यो

चैत ७, २०८२
काठमाडौं
दुईपटकको अग्रता जोगाउन नसक्दा युनाइटेडले बर्नमाउथसँग अंक बाँड्यो

सन् २०१२–१३ सिजनपछि उपाधि जित्न नसकेको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा बर्नमाउथसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर युनाइटेडले खेलका क्रममा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा म्यान युनाइटेडले ६१औँ मिनेटमा अग्रता लियो ।

म्यान युनाइटेडका ब्रुनो फर्नान्डेसले पहिलो गोल गरे । उनले पेनाल्टी प्रहारको अवसरलाई सदूपयोग गर्दै गोल गरेका हुन् ।

तर, म्यान युनाइटेडको त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ६७औँ मिनेटमा बर्नमाउथका रायन क्रिस्टीले जवाफी गोल फर्काए ।

यसैगरी, ७१औँ मिनेटमा म्यान युनाइटेडले फेरि अग्रता लियो । बर्नमाउथका जेम्स हिलबाट आत्मघाति गोल भएपछि म्यान युनाइटेड २–१ ले अगाडि बढेको थियो ।

तर, म्यान युनाइटेडको त्यो अग्रता पनि लामो समय टिक्न सकेन । खेलको ८१औँ मिनेटमा बर्नमाउथका जुनियर क्रुपीले पेनाल्टीमार्फत जवाफी गोल गरे ।

अनुभवी खेलाडी ह्यारी माग्वायरको गल्तिका कारण बर्नमाउथले पेनाल्टी प्रहारको अवसर पाएको थियो । दुई वर्षपछि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा फर्किएका ह्यारीका लागि प्रिमियर लिगको यो खेल भने सुखद रहेन । उनी निर्धारित समयको ७८औँ मिनेटमा सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

म्यान युनाइटेड ३१ खेलबाट ५५ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । समान खेलबाट ७० अंक जोडेको आर्सनल पहिलो र ३० खेलबाट ६१ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन् । बर्नमाउथ भने ३१ खेलबाट ४२ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्