
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका छन् ।
मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना भएको बताए ।
'यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु,' राष्ट्रपति पौडेलले भने ।
उनले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएको भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । 'आयोगले विगत सात वर्षमा मधेशी समुदायको पहिचान र अधिकारका लागि जुन जग बसालेको छ, आगामी दिनमा यसलाई अझ उचाइमा पुर्याउनेछ भन्ने मेरो विश्वास छ,' राष्ट्रपति पौडेलले भने ।
ऐतिहासिक रूपमा केही समुदायहरू- विशेषतः मधेसी समुदाय—राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।