
कपिलवस्तुको महाराजगञ्जमा शनिबार भएको धार्मिक विवादले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा आइतबार पनि जारी छ ।
मन्दिर तोडफोड गर्ने र मन्दिरका सामग्रीमा क्षति पुर्याउनेलगायतका विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनावको वातावरण सिर्जना भएको र दिनभरजसो जुलुस प्रदर्शन भएको थियो ।
फेरि सम्भावित घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार पनि निषेधाज्ञा लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार दिउँसो १ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) निषेधाज्ञा जारी गरिएको बताए ।
पूर्वमा लबनी चोक, पश्चिममा वगर्दीघाट पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त मावि बभनीसम्म निषेधाज्ञा लगाइएको हो ।
शनिबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा केही घाइते भएका थिए ।
