
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्धकै बीच अमेरिका र इरानबीच सहमतिको विन्दु फेला परेको दाबी गरेका छन्।
फ्लोरिडाको वेस्ट पाम बिचबाट एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको दाबी गरेका हुन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीबीच सहमतिको प्रमुख विन्दु फेला परेको छ। म त के भन्छु भने, लगभग सबै बुँदाहरूमा सहमति भइसकेको छ।' उनले इरानसँग भइरहेको यो वार्तालाई अत्यन्तै सशक्त भएको टिप्पणी समेत गरे।
यो वार्ता प्रक्रियामा ट्रम्पका सल्लाहकार स्टिभ विट्कफ र उनका ज्वाइँ जेरेड कुश्नर प्रत्यक्ष रूपमा संलग्न रहेको उनले जानकारी दिए।
'यो वार्ताले अन्ततः कहाँ पुर्याउँछ, त्यो हामी हेर्नेछौँ,' ट्रम्पले थपे।
कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानका एक उच्च पदस्थ व्यक्तिसँग संवाद गरिरहेको बताए। यद्यपि, उक्त संवाद इरानका नयाँ सर्वोच्च नेतासँग भने नभएको उनले प्रस्ट पारे।
इरानी सर्वोच्च नेताको वर्तमान अवस्थाका बारेमा आशंका व्यक्त गर्दै ट्रम्पले भने, 'उनी जीवित छन् कि छैनन् भन्ने समेत हामीलाई थाहा छैन।'
मध्यपूर्वमा बढ्दो तनाव र हवाई क्षेत्रमा देखिएका प्रतिबन्धहरूका बीच ट्रम्पको यो बयानलाई निकै अर्थपूर्ण मानिएको छ। यदि ट्रम्पले दाबी गरे झैँ सबै बुँदामा सहमति जुटेको खण्डमा मध्यपूर्व संकट समाधान हुनेछ ।