
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो राजीनामाका सम्बन्धमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय आफ्नो अपेक्षाभन्दा भिन्न आएको बताएका छन् ।
उनले पार्टीले आफ्नो राजीनामा स्वीकृत गरोस् भन्ने चाहेको तर केन्द्रीय समितिले अस्वीकृत गरेको उल्लेख गरे । उनले आफ्नो राजीनामा कुनै दबाब र ग्लानिको विषय नभएर जवाफदेहिताको विषय रहेको बताए ।
उनले आफूले चुनावलगत्तै राजीनामा दिन चाहे पनि केही प्राविधिक कारणले केही दिन ढिला हुन गएको उल्लेख गरे । निर्वाचनको पक्रिया र जिम्मेवारी पूरा गरेपछि आफूले राजीनामा दिएको थापाको भनाइ छ ।
‘राजनीतिक जिम्मेवारी र जवाफदेहिताको कसीबाट राजीनामा दिएको थिएँ । राजीनामा कुनै दबाब र ग्लानिको विषय थिएन, यो जवाफदेहिताको विषय थियो । मैले यसको जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो र राजीनामा दिएँ’, मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘मैले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गरेँ । केन्द्रीय समितिले आफ्नो निर्णय गर्यो । अब को ठीक को बेठीक भनेर अल्झिने होइन ।’
उनले कांग्रेस अब नियमित महाधिवेशनको बाटोमा अघि बढ्ने बताए । नियमित महाधिवेशनको म्यान्डेडसहित विशेष महाधिवेशनबाट आफूहरू निर्वाचित भएको समेत स्मरण गरे ।
हाम्रो पार्टीलाई अब महाधिवेशनतर्फ अघि बढ्ने हो । विभिन्न विषयको छलफल र छिनोफानो अब महाधिवेशनको हलले गर्छ’, थापाले भने ।