२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री कप : चार ब्याट्सम्यानको अर्धशतकसँगै कीर्तिमानी रन बनाएको पुलिसले एपीएफलाई १८५ रनले हरायो

चैत १०, २०८२
काठमाडौं
प्रधानमन्त्री कप : चार ब्याट्सम्यानको अर्धशतकसँगै कीर्तिमानी रन बनाएको पुलिसले एपीएफलाई १८५ रनले हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक सय ८५ रनले हराएको छ ।

जारी प्रतियोगितामा कुनै पनि टोलीले रनका आधारमा हासिल गरेको यो सबैभन्दा ठूलोअन्तरको जित पनि हो । मंगलबार नै बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय ७० रनले हराएको थियो ।

जारी प्रतियोगितामा पुलिस क्लब र एपीएफ क्लब दुवैले आफ्नो दोस्रो खेल खेलेका हुन् । आफ्नो पहिलो खेलमा एपीएफ क्लब विजयी भएको थियो भने पुलिस क्लब पराजित ।

एपीएफ क्लबले पहिलो खेलमा बागमती प्रदेशलाई ७१ रनले हराएको थियो । पुलिस क्लब भने आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २२ रनले पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ५५ रन बनाएको थियो । प्रधानमन्त्री कप क्रिकेटको इतिहासमै बनेको यो सबैभन्दा ठूलो स्कोर हो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने ४४ ओभरमै अलआउट हुनुअघि एक सय ७० रनमात्र बनाउन सक्यो ।

पुलिस क्लबका चार ब्याट्सम्यानले अर्धशतक बनाए । ओपनर दिनेश खरेलले ६० रनको योगदान गरे । उनले केवल ५२ बलमा चार छक्का र ६ चौका प्रहार गरे ।

शंकर रानाले पनि टोलीका लागि ६१ रनको योगदान गरे । पाँचौं नम्बरमा क्रिज समाल्न आएका उनले केवल ५४ बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए ।

कप्तान आरिफ शेखले पनि टोलीका लागि ५० रनको योगदान गरे । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।

यसैगरी, विकेटकिपर ब्याट्सम्यान दिलसाद अलीले पनि टोलीको खातामा अविजित ५१ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ३० बलमा तीन छक्का र पाँच चौका हिर्काए ।

रासिद खानले टोलीको खातामा ४४ रन थपे । उनले ४२ बलमा तीन छक्का र तीन चौका हिर्काए । अमित श्रेष्ठले पनि ३९ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ३९ रन जोडे ।

पुलिस क्लबले अतिरिक्त रुपमा १७ रन पायो । एपीएफ क्लबका बलर कमल ऐरी र अमर रौतेलाले दुई/दुई तथा नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एपीएफ क्लबका लागि भने तल्लोक्रमका ब्याट्सम्यान नन्दन यादवले अविजित ४४ रन बनाए । कमल ऐरीले पनि ३५ रन जोडे । सन्दीप जोराले २४ र पूर्ण बीकेले २० रन बटुले ।

पुलिस क्लबका बलर ललित राजवंशीले तीन विकेट लिए । दिनेश खरेल, करण केसी र रासिद खानले दुई/दुई विकेट हात पारे । सागर ढकालले पनि एक/एक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्