१० साउन २०८३, आइतबार

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

चैत १०, २०८२
काठमाडौं
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा, अब बिहीबार सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । सोमबार पनि बहस जारी रहँदा हेर्दाहेर्दैमा राखिएको थियो । अब यो मुद्दामा बिहीबार सुनुवाइ हुनेछ ।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाउने आदेश गरेको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएकी थिइन् ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अभियन्ता युवराज पौडेल र अधिवक्ता विद्यार्थी आभास रेग्मीसहितले मुद्दा दायर गरेका थिए ।

शुरूमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर हटाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले माघ २ गते उनीसँग जोडिएका सहकारीका सबै प्रतिवादीविरुद्ध सहकारी ठगी बाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्