नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदैछन् ।
नयाँ संसद् भवन पूर्णरूपमा तयार नभइसकेकाले सोही भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा शपथ ग्रहण तथा आगामी बैठक सञ्चालनका लागि तयार पारिएको छ ।
अहिले सरसफाइ, सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन मेटल डिटेक्टर जडान, लोगो राख्ने तथा साइनबोर्ड व्यवस्थापनजस्ता कामहरू तीव्र रूपमा भइरहेका छन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथ ग्रहणका लागि आवश्यक अधिकांश तयारी सम्पन्न भइसकेको छ भने बाँकी अडियो तथा भिडियोसम्बन्धी प्राविधिक काम अन्तिम चरणमा रहेका छन् ।
यद्यपि, हल सानो भएका कारण व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । करिब २८० देखि २९० सीट क्षमता मात्र हलमा छ ।
यसभित्र सांसद, कर्मचारी तथा पत्रकारहरूलाई समेट्न कठिन हुने अवस्था रहेको गिरीको भनाइ छ । उनले विशेषगरी पत्रकारहरूको व्यवस्थापनमा समस्या हुने उल्लेख गरे ।
संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पनि शपथ ग्रहण गराउने स्थलको अवलोकन गरेका छन् । उनले नै भोलि सबै सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।
अवलोकनपछि प्रतिक्रिया दिँदै उनले तत्कालका लागि हललाई राम्रोसँग व्यवस्थित गरिएको र कामचलाउ रूपमा उपयुक्त रहेको बताए।
नयाँ संसद् भवनले पूर्णता पाउन केही समय लागे पनि हालको व्यवस्थापन सन्तोषजनक रहेको उनको भनाइ छ।
भौतिक पूर्वाधार पूर्णरूपमा तयार नभए पनि आवश्यक वैकल्पिक व्यवस्थासहित भोलि हुने शपथ समारोह सफलतापूर्वक सम्पन्न गर्ने तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।
भिडियो :