२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री कप क्रिकेट : ​शंकरको शतकसँगै पुलिसले बलियो बागमतीलाई ७ विकेटले हरायो

चैत १२, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट : ​शंकरको शतकसँगै पुलिसले बलियो बागमतीलाई ७ विकेटले हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सफलता हात पारेको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा पुलिस क्लबले बलियो प्रतिद्वन्द्वी बागमती प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो ।

जारी प्रतियोगितामा तीन खेल खेलेको पुलिस क्लबले हात पारेको यो दोस्रो जित हो । पुलिस क्लब आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २२ रनले पराजित भएको थियो ।

यसैगरी, आफ्नो दोस्रो खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक सय ८५ रनको विशाल अन्तरले हराएको थियो ।

जारी प्रतियोगितामा तीन खेल खेलेको बागमतीको भने यो दोस्रो हार हो । बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय ७० रनले हराएको थियो भने एपीएफ क्लबसँग ७१ रनले पराजित भएको थियो ।

बिहीबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६५ रनको सम्मानजनक स्कोर तयार पारेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले ४४ ओभरमै केवल तीन विकेट गुमाएर दुई सय ७१ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । पुलिस क्लबको जितमा शंकर रानाले शतकीय योगदान गरे ।

ओपनर ब्याट्सम्यान शंकरले एक सय १६ रन बनाए । यसक्रममा उनले एक सय २८ बलको सामना गरी चार छक्का र १३ चौका पनि हिर्काए ।

उनले अर्का ओपनर दिनेश खरेलसँग एक सय ५९ रनको साझेदारी गरे । दिनेशले पनि टोलीका लागि ७० रनको योगदान गरे । उनले ७५ बलमा तीन छक्का र आठ चौका हिर्काए ।

कप्तान आरिफ शेखले पनि टोलीका लागि अविजित ४३ रनको योगदान गरे । यसक्रममा उनले ४७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए ।

बागमती प्रदेशका बलर रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले एक/एक विकेट लिए । त्यसअघि, बागमती प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए ।

माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको बागमती प्रदेशका लागि ईशान पाण्डेले ७० रनको योगदान गरे । उनले ८० बलमा तीन छक्का र ६ चौका हिर्काए ।

पवन थापाले पनि टोलीको खातामा ७९ रन थपे । उनले एक सय एक बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

पुलिस क्लबका बलर दिनेश खरेल र रासिद खानले तीन/तीन विकेट लिए । करण केसीले पनि दुई विकेट हात पारे । ललित राजवंशीले एक विकेट कुम्ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्