
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फूटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेपछि एन्फा निर्वाचनमा उम्मेदवारी दिएकी पेमाडोल्मा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
चैत १३ गते झापामा हुने भनिएको एन्फा निर्वाचनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् ।
तर, राखेपको बुधबार साँझ बसेको कार्यकारी समितिको बैठकले एन्फा कार्यसमितिलाई निलम्बन गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
‘मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा पटक-पटकको राखेपको निर्देशन, चुनाव गर्ने र नगर्ने पक्षबीच भएको आपसी खिचातानी तथा आन्तरिक किचलोबाट आफूलाई अलग राखी स्वतन्त्रपूर्वक रहन चाहेकाले यसै पत्रमार्फत मेरो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्छु,’ उनले बिहीबार एन्फा अध्यक्षलाई सम्बोधन गरी पठाएको पत्रमा उल्लेख छ ।
पेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली महिला फूटबल खेलाडी पनि हुन् । उनले सन् १९९९ मा आयोजित एएफसी महिला च्याम्पियनसिपमा नेपालको तर्फबाट गोल गरेकी थिइन् ।
आफ्नो निर्देशन विपरीत ‘अर्ली इलेक्सन’मा गएको भन्दै राखेपले एन्फाको वर्तमान कार्यसमितिलाई निलम्बन गरेपछि विवाद थप पेचिलो बनेको छ ।
विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक-पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएको कारण देखाउँदै राखेपले एन्फा कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।
राखेपले निलम्बन गरे पनि एन्फाले आफ्नो निर्वाचन प्रक्रिया भने स्थगित गरेको छैन । निर्वाचनमा सहभागी हुन विश्व फूटबल महासंघ (फिफा) र एसियाली फूटबल महासंघ (एएफसी)का प्रतिनिधिहरू नेपाल आइसकेकाले निर्वाचन रोक्न नसकिने दाबी एन्फा स्रोतको छ ।
