१० साउन २०८३, आइतबार
सिंहदरबारमा नयाँ मन्त्री

सार्वजनिक बिदाका दिन मन्त्रीहरूको पदभार ग्रहण : के-के भयो पहिलो निर्णय ?

चैत १३, २०८२
काठमाडौं
सार्वजनिक बिदाका दिन मन्त्रीहरूको पदभार ग्रहण : के-के भयो पहिलो निर्णय ?

बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्का मन्त्रीहरूले रामनवमी पर्वको दिन शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् ।

सार्वजनिक बिदाको दिन प्रधानमन्त्री बालेन्द्र शाह लगत्तै शपथ लिएका मन्त्रीहरूले सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार सम्हालेका हुन् ।

अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले तीन निर्णय गरेका छन् ।

उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक/कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् । 

निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।

निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकासे आयोजनासँग सम्बन्धित कानून बनाउने उनको निर्णय छ ।

यस्तै, तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

उनले पहिलो निर्णय गर्दै सरकारले एकद्वार प्रणालीबाट काम गर्ने पनि जानकारी दिए । साथै, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने पनि बताए । 

चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्दै सुशासन र आर्थिक समृद्धि आफूहरूले उठाएको प्रमुख दुई विषय भएको जनाए । अब सबै मन्त्रालय यिनै दुई मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने उनले बताए । 

‘आज भएको निर्णयमा पनि कन्सुलर सेवा विभागबाट दिइने सेवालाई डिजिटलाइज गर्ने भन्ने छ‚’ उनले भने‚ ‘कतिपय सेवा डिजिटलाइज भइसकेका छन् । थप सेवालाई डिजिटलाइजेसन गर्ने निर्णय भएको छ ।’

सेवाग्राहीलाई प्रविधिमार्फत सरकारी कार्यालय नपुगी कसरी सेवा प्रवाह गर्ने भन्नेतर्फ अघि बढ्ने उनले जनाए । उनले आर्थिक समृद्धि भन्नेबित्तिकै अर्थ कूटनीति भएको भन्दै यसैमा आफ्नो ध्यान जाने पनि उल्लेख गरे । 

कानूनमन्त्री सोविता गौतमले पनि पदभार ग्रहण गर्दै यौनजन्य र बलात्कारपीडितलाई चाँडो न्याय दिलाउने गरी कानून संशोधन गर्ने  निर्णय गरेको जानकारी दिइन् । 

'मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र महिला बालबालिका सम्बन्धी अन्य विधाका ऐनहरूमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुधार गरी शीघ्र न्याय प्राप्त गर्नुपर्ने सम्बन्धमा गर्नुपर्ने कानूनी सुधारका विषय पहिचान गर्ने,’ उनले गरेको निर्णयमा लेखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएका शिक्षा मन्त्री सस्मित पोखरेलले दुवै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

यस्तै, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पनि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्