२१ असार २०८३, आइतबार
पूर्वगृहमन्त्री गिरफ्तार प्रकरण​

जरुरी पुर्जी दिएर पक्राउ गर्नुको औचित्यबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

चैत १६, २०८२
काठमाडौं
जरुरी पुर्जी दिएर पक्राउ गर्नुको औचित्यबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
फाइल फोटो

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुको विद्यमानता रहे/नरहेको विषयमा सरकारसँग ३ दिन भित्र लिखित जवाफ माग गरेको छ ।

प्रहरी हिरासतमा रहेका लेखकको हकमा उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारसँग जवाफ मागेको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण तथा निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को पूर्वअवस्थाको विद्यमानता रहे/नरहेको समेत खुल्ने गरी बाटोको म्याद बाहेक सूचना पाएका मितिले ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु,’ आदेशमा उल्लेख छ ।

साथै सर्वोच्चले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन र अनुसन्धानका क्रममा तयार पारिएको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । ‘संवत् २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तथा अनुसन्धानको क्रममा तयार पारिएको सक्कल मिसिल समेत महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई पेश गर्नु,’ आदेशमा भनिएको छ ।​

कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनको सिलसिलामा प्रहरीले गत शनिबार बिहानै लेखकलाई पक्राउ गरेको थियो ।

लेखकको पक्राउ गैरकानूनी तथा गैरसंवैधानिक रहेको भन्दै तत्काल थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यशोदाले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उता काठमाडौं जिल्ला अदालतले आइतबार (हिजो) प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको अनुमति प्रदान गरेको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्