११ साउन २०८३, सोमबार

रास्वपाको उदयपछि बिरक्तिए कोशीका मुख्यमन्त्री !

चैत १७, २०८२
काठमाडौं
रास्वपाको उदयपछि बिरक्तिए कोशीका मुख्यमन्त्री !

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अचेल सार्वजनिक मञ्चहरूमा प्रदेशको समृद्धिको खाका कोर्नुभन्दा बढी आफ्नै राजनीतिक पराजय र जनताप्रतिको गुनासो पोख्न व्यस्त देखिन्छन् । सोमबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको एक औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्की जसरी प्रस्तुत भए, त्यसले उनी प्रदेशको कार्यकारी प्रमुख नभई पराजित मानसिकता बोकेको पात्रजस्तो भान गराउँथ्यो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफ्नो चुनावी अनुभव सुनाउँदै भने, ‘हामीले यत्रो काम गर्‍यौँ, बाटो बनायौं, पुल बनायौं तर भोट माग्न जाँदा मान्छेहरूले यसपालि नयाँलाई भने । हामीले यत्रो काम गरेका छौं, एमालेलाई भोट दिनुभन्दा उनीहरूले तपाईंहरूले राज्यकोषबाट गरेको त हो नि, अर्कोले आएर भोलि गर्छ भन्ने जवाफ दिए ।’

फागनु २१ मा भएको प्रतिनिधिसभाको चुनावमा पुराना दल तथा तिनका सोचलाई मतदाताले अस्वीकार गरिदिएका छन् । राज्यकोषको ढुकुटी खर्चेर गरिने नियमित कामलाई चुनावी एजेन्डा बनाउँदा र त्यसको बदलामा भोट नपाउँदा एमाले-कांग्रेसका नेताहरू भने विरक्तिन थालेका छन् ।

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र त्यसले परम्परागत शक्तिहरूलाई पुर्‍याएको क्षतिले मुख्यमन्त्री कार्की पनि विरक्तिएको उनको भनाइले देखाउँछ । रास्वपाले झन्डै दुईतिहाइ मत ल्याएको र पुराना दलहरू पत्तासाफ हुन थालेको यथार्थलाई उनले स्वीकार गर्न सकेका छैनन् । नयाँ शक्ति र नयाँ जनादेशलाई व्यङ्ग्य गर्दै उनले आफूहरू अब केवल ‘माइन्डसेट’ परिवर्तन गरेर बस्न बाध्य भएको लाचारी सुनाए ।

उनले भने, ‘हामी न फेदमा हुन्छौं न टुप्पोमा, हाम्रो कुनै उपादेयता नै रहँदैन कि जस्तो हुन थाल्यो ।’ यो अभिव्यक्तिले कार्कीले आफ्नै राजनीतिक भविष्य अन्धकारतर्फ धकेलिएको आशंका गरिरहेका छन् ।

मुख्यमन्त्री कार्कीले आफूलाई आउटडेटेड (पुरानो र असान्दर्भिक) भएको महसुस मात्र गरेका छैनन्, उनले त संघीयताको मेरुदण्ड मानिएको प्रदेश संरचनामाथि नै प्रश्न उठाउन थालेका छन् । केही समयअघि उनले प्रदेश खारेज गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएका थिए । जुन व्यवस्थाको मुख्यमन्त्री बनेर उनी सरकारी सुखसुविधा भोगिरहेका छन्, त्यही व्यवस्थाप्रति उनको यो अनास्थाले उनको राजनीतिक नैतिकतामाथि ठूलो प्रश्न खडा गरेको छ । सतासिन नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपाले समेत मुख्यमन्त्रीको भनाइको कडा प्रतिवाद गरिरहेका छन् ।

आगामी वर्षदेखि असन्तुलित बजेट वितरणलाई रोकेर नतिजामुखी बजेट  निर्माण गर्ने समेत उनले बताएका छन् । नयाँ परिवेशअनुसार सिक्दै र परिवर्तित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने बताए । यसपटकको बजेटमा योजना बैंकमा आएका योजनालाई प्राथमिकता दिने उनको भनाइ छ ।

परम्परागत रूपमा घरपरिवारमा उत्पादन गरिँदै आएको घरेलु मदिरा रक्सीको उत्पादन गुणस्तर र परीक्षण एवं ब्रान्डिङ विषयका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता समेत प्रदेश सरकारले गरेको छ । संघीय सरकारमा बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै कर्मचारीहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूले भनेको समेत टेर्न छाडेको स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्