
अफ्रिकी राष्ट्र कंगो ५२ वर्षपछि फिफा पुरुष विश्वकप फुटबलमा छनोट भएको छ ।
कंगो बुधबार बिहान सम्पन्न अन्तरमहादेशीय छनोट प्रतियोगितामा जमैकालाई १–० गोलले हराउँदै आगामी विश्वकपमा छनोट भएको हो ।
कंगो र जमैकाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । कंगोलका लागि खेलको १०० औं मिनेटमा एलेक्स तुआन्जेबले निर्णायक गोल गरेका थिए ।
कंगोले यो नामबाट पहिलो पटक विश्वकप खेल्न लागेको हो । कंगोले यसअघि, सन् १९७४ मा ‘जाइर’ नामबाट फिफा विश्वकप खेलेको थियो । आगामी विश्वकपमा कंगोको टोली समूह ‘के’मा परेको छ । उक्त समूहमा कंगोसँगै पोर्चुगल, उज्बेकिस्तान र कोलम्बिया छन् ।
विश्वकपको आगामी संस्करण आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदैछ । यसपटक विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।