उद्योगी तथा व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा व्यस्त छन् । यही चैत २९ र ३० गते काठमाडौंमा हुने महासङ्घको ६० औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको चयनका लागि व्यवसायीहरू होमिएका छन् ।
महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल यही चैतको अन्तिम साता बिदा हुँदैछन् । महासङ्घको विधानअनुसार ढकाल बिदा भएसँगै अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । अन्य पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
अञ्जन श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे छन् । यसका साथै श्रेष्ठको प्यानमा एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरिसकेका छन् ।
पाँच पटकसम्म नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्व गरिसकेका घिमिरेको पेट्रोल पम्प, ग्यास, कृषिदेखि हाइड्रोपावरसम्ममा लगानी छ । वर्षौंदेखि व्यापार व्यवसायमा सक्रिय घिमिरे महासङ्घको कार्यशैलीमा आमूल सुधार ल्याउनुपर्ने बताउँछन् ।
महासङ्घबाट नीतिगत सुधार र लगानीमैत्री वातावरण बनाउने ऐजेन्डासहित घिमिरे चुनावमा होमिएका छन् । ‘सुरक्षित निजी क्षेत्र : सशक्त महासङ्घ’ नारासहितको प्रतिज्ञा पत्र उनले अगाडि सारेका छन् । प्रस्तुत छ घिमिरेसँग गरिएको लोकान्तर संवाद ।
हेर्नुहोस्, भिडियो :