
अनलाइनमार्फत् महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नाजुक अवस्थाकी एक महिलालाई आर्थिक प्रलोभनमा पारेर २०८१ असोजदेखि विभिन्न ग्राहकसँग सम्पर्क गराई होटल तथा कोठामा पठाएर वेश्यावृत्तिमा लगाइएको थियो ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–५ का ३० वर्षीय शिवबहादुर सारू रहेका छन् । उनले व्हाट्सएपमार्फत् सम्पर्क गरी ग्राहक खोज्ने र प्रत्येक ग्राहकबाट ८ हजारदेखि २० हजार रूपैयाँसम्म असुल गरी पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोप छ ।
प्रहरीले ती महिलालाई २०८१ कात्तिक १२ गते उद्धार गरेको थियो । पछि २०८१ कात्तिक २६ गते जाहेरी दर्ता भएपछि आरोपी फरार रहेका थिए ।
उनलाई खोजतलासका क्रममा यही चैत १८ गते साउदी अरेबियाबाट फ्लाइ दुबईको उडानमार्फत नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरिएको ब्यूरोका एसपी राजन लिम्बूले जानकारी दिए ।
सारूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए ।