२४ जेठ २०८३, आइतबार
हाम्रा मन्त्री-सांसद

आश गरिएका मन्त्री-सांसदका अनेक गतिविधि: स्कूल ड्रेस, साइकलदेखि सोफासम्म !

चैत २०, २०८२
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसद तथा मन्त्रीहरूको पछिल्लो कार्यशैलीले सार्वजनिक वृत्तमा चर्चा र बहस सिर्जना गरेको छ ।

उनीहरूले अपनाएका केही सांकेतिक र असामान्य शैलीलाई कतिपयले फरकपनका रूपमा हेरेका छन् भने कतिपयले त्यसलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् ।

रास्वपाका सांसद रहबर अन्सारी प्रतिनिधिसभाको शपथ ग्रहण कार्यक्रममा स्कूले पोशाकमा उपस्थित भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा भयो ।

सांसद अन्सारीको उक्त शैलीलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले यसलाई प्रतीकात्मक राजनीतिक अभिव्यक्ति मानेका छन् भने अर्काथरीले सांसदको हैसियतअनुसार औपचारिक पोशाक वा सांस्कृतिक पहिचान झल्किने पोशाक उपयुक्त हुने तर्क गरेका छन् ।

तर, अन्सारीले ३५ वर्षअघि बुवाले आफूलाई हात समातेर विद्यालय लगेको र आज संघीय संसद् भवनसम्म ल्याउँदा त्यसको सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरू हुन् भन्ने सन्देश दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो ।’

रास्वपाका अर्का सांसद आशिष गजुरेल संसद्को पहिलो अधिवेशनमा सहभागी हुन साइकल चढेर संसद् भवन पुगेका थिए । साइकल प्रयोगलाई कतिपयले वातावरणमैत्री र सादगीपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् । गजुरेल प्राविधिक पृष्ठभूमिका व्यक्ति भएकाले इन्धन बचत, ट्राफिक जाम व्यवस्थापन तथा स्वास्थ्यसँग सम्बन्धित सन्देश दिन साइकल रोजेको अनुमान गरिएको छ ।

सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने र केवल चर्चा कमाउने उद्देश्यले सीमित अवधिका लागि मात्रै यस्ता गतिविधि गर्नु उपयुक्त नहुने टिप्पणी विज्ञहरूले गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङको कार्यशैली पनि पछिल्लो समय चर्चामा छ । उनले मन्त्रालयकै सोफामा सुतेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

तस्वीरसँगै उनले ‘निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनता भन्दामाथि सरकार हुँदैन’ भनेर लेखेका छन् ।

मन्त्री गुरुङले सरकारी सुविधा अनुसार उपलब्ध हुने सवारी र चालक प्रयोग नगरी निजी गाडी आफैं चलाउने गरेका छन् ।

यसलाई कतिपयले सादगी र व्यक्तिगत शैलीका रूपमा हेरेका छन् भने सुरक्षाका दृष्टिकोणले यसप्रति प्रश्न उठाइएको छ । सुरक्षा निकायहरूले मन्त्रीको आवागमनमा प्रोटोकल र सुरक्षालाई ध्यान दिनुपर्ने सुझाव दिँदै आएका छन् ।

पछिल्ला दिनमा मन्त्री गुरुङले सुरक्षा निकायको स्रोतसाधन, पोशाक, रासन तथा वृत्ति विकासका विषयमा दिएका अभिव्यक्तिलाई भने सकारात्मक रूपमा हेरिएको छ । तर, मन्त्रालयमै बस्ने वा निजी गाडी आफैं चलाउने जस्ता गतिविधिलाई लिएर सार्वजनिक बहस जारी छ ।

विश्लेषकहरूका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूको व्यवहार र प्रस्तुति उनीहरूको व्यक्तिगत निर्णय मात्रै नभई संस्थागत गरिमा र सन्देशसँग पनि जोडिएको हुन्छ । उनीहरूका हरेक गतिविधिलाई नागरिकले नजिकबाट नियालिरहेका हुन्छन् ।

पूर्वसचिव गोपीनाथ मैनाली पदअनुसार सरकारले उपलब्ध गराएको सुविधा आवश्यकताबमोजिम प्रयोग गर्नुपर्ने बताउँछन् ।

यदि सुविधा अत्यधिक भएको ठहरिए त्यसमा पुनरवलोकन गर्न सकिने, तर सुरक्षासँग सम्बन्धित सुविधा प्रयोग गर्नु सम्बन्धित पदाधिकारीकै हितमा हुने उनको सुविधा छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं राजनीतिक विश्लेषक डाक्टर राजेश गौतमले सांसद तथा मन्त्रीका यस्ता गतिविधि धेरै हदसम्म चर्चा केन्द्रित हुने गरेको टिप्पणी गरेका छन् ।

उनका अनुसार सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले फरक देखिनुभन्दा पनि नतिजामुखी काममार्फत जनतामा प्रभाव पार्नु आवश्यक हुन्छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्