
अतिरिक्त शुल्क लिई काम गरिदिने भन्दै सेवाग्राहीलाई दु:ख दिएको आरोपमा २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित नापी कार्यालय भैरहवामा सेवा लिन आएका सेवाग्राहीहरूको काम छिटो गरिदिने भन्दै बढी शुल्क लिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका रूपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले बिहीबार यातायात व्यवस्था कार्यालय बुटवलबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।