२८ असार २०८३, आइतबार

सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : मुख्य आरोपितका बुवाले दिए ५ जनाविरुद्ध किटानी जाहेरी

चैत २०, २०८२
विराटनगर
सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : मुख्य आरोपितका बुवाले दिए ५ जनाविरुद्ध किटानी जाहेरी
फाइल फोटो

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा भएको करिब ५ करोड रुपैयाँ हिनामिना प्रकरणमा नयाँ मोड आएको छ ।

मुख्य आरोपित भनिएकी बैंककी तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेलका बुवा राजेन क्षेत्री कँडेलले उल्टै केही व्यक्तिहरूविरुद्ध ‘अनुचित लेनदेन’ र ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् ।

राजेन क्षेत्री कँडेलले दिएको जाहेरीमा विराटनगरका भोलेनाथ गुप्ता, एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र प्रवीन जैनलाई विपक्षी बनाइएको छ ।

जाहेरीमा उल्लेख भएअनुसार गत फागुन १५ गते बिहान ८:३० बजे शेखर पोखरेल, रुपेश यादव र शिव भवानीसहितको टोली कँडेलको घरको कम्पाउण्डमा प्रवेश गरी गुण्डागर्दी शैलीमा प्रस्तुत भएका थिए ।

उनीहरूले राजेन कँडेल र उनकी पत्नी वविता कँडेलका नाममा काटिएका १०/१० लाखका नक्कली चेकहरू देखाउँदै ‘तिम्री छोरी रोजीले बैंक घोटाला गरेको रकम हामीलाई पनि दिन्छु भनेकी थिइन्, कि छोरीलाई भेटाउ नत्र ५ करोड ६० लाख नगदै देऊ’ भन्दै ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ ।

कँडेलले आफूले ती व्यक्तिहरूलाई नचिनेको र कुनै लेनदेन नै नभएको अवस्थामा कीर्ते हस्ताक्षर गरी चेक खडा गरेर आफूलाई फसाउन खोजिएको भन्दै मुलुकी अपराध संहिताअनुसार कारबाहीको माग गरेका छन् ।

यसअघि सार्वजनिक भएको बैंकको आन्तरिक लेखापरीक्षण (अडिट) रिपोर्टले बैंकभित्रै बसेर कर्मचारीहरूको मिलोमतोमा १३ जना नक्कली ऋणी खडा गरी कुल ४ करोड ९१ लाख ५२ हजार १३ रूपैयाँ ६५ पैसा हिनामिना गरिएको तथ्य उजागर गरेको थियो ।

कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डपोजित) मा राखेको रकमलाई उनीहरूको जानकारीविना नै धितोका रूपमा प्रयोग गरी २० लाखदेखि १ करोड २५ लाख रुपैयाँसम्मका १३ वटा नक्कली ऋण फाइल खडा गरेर बैंकको ढुकुटी रित्याएको पाइएको छ ।

अडिट रिपोर्टका अनुसार यो रकम निकाल्नका लागि कञ्चनबारी शाखाका तत्कालीन प्रबन्धक अभिषेक अग्रवाल, सहायक शाखा प्रबन्धक जोसेफ आचार्य, अपरेसन इन्चार्ज रोजी कँडेल र सोनिका राउतको युजर आईडी प्रयोग भएको छ ।

घटना बाहिरिएपछि बैंकले मुख्य आरोपित कँडेललाई बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अग्रवाल र सहायक प्रबन्धक आचार्यसहित सोनिका राउत, विकास श्रेष्ठ, एलिना श्रेष्ठ र उद्धव अधिकारीलाई निलम्बन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले चार्टर्ड एकाउन्टेन्टसहितको टोलीले तयार पारेको २५० पानाको विस्तृत छानबिन प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी दिएका थिए ।

मोरङ प्रहरीका अनुसार यस प्रकरणमा बैंकका तल्लो तहदेखि माथिल्लो तह र केन्द्रीय कार्यालयका कर्मचारीहरूको समेत मिलोमतो रहेको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको छ ।

यता आरोपित पक्षले भने आफूहरूलाई मात्रै बली चढाउन खोजिएको दाबी गर्दै आएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्