०५ साउन २०८३, मंगलबार

इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी

चैत २२, २०८२
काठमाडौं
इरानमा खसेको लडाकु विमानका अर्का पाइलटको पनि सुरक्षित उद्धार गरिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा खसेको अमेरिकी एफ–१५ लडाकु विमानका दोस्रो चालकदल सदस्यलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेका छन् ।

यसबीच इरानले उद्धार कार्यमा संलग्न अर्को अमेरिकी विमान इस्फाहान प्रान्तमा खसालिएको दाबी गरेको छ ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, ‘यो बहादुर सैनिक इरानका जोखिमपूर्ण पहाडी क्षेत्रमा दुश्मनको घेराभित्र थिए, जहाँ उनलाई हाम्रो विरोधीहरूले खोजिरहेका थिए । उनी घाइते भएका छन्, तर अब अवस्था ठीक हुनेछ ।’

ट्रम्पका अनुसार कर्णेल पदका उक्त सैनिक एफ–१५ विमानका दुई सदस्यीय चालकदलमध्ये दोस्रो व्यक्ति हुन्, जसलाई इरानले शुक्रबार आफ्नो हवाई प्रतिरक्षाबाट खसालिएको दाबी गरेको थियो ।

‘यो चमत्कारिक खोज तथा उद्धार अभियान हिजो सफलतापूर्वक गरिएको पहिलो पाइलटको उद्धारसँगै सम्पन्न भएको हो, जसलाई दोस्रो उद्धार अभियान प्रभावित नहोस् भनेर हामीले सार्वजनिक गरेका थिएनौं’, ट्रम्पले भने ।

यो उद्धारसँगै इरानसँगको युद्ध छैटौं हप्तामा पुगेको अवस्थामा अमेरिकी प्रशासनका लागि सिर्जित संकट टरेको मानिएको छ ।

पहिलो चालकदल सदस्य यसअघि नै उद्धार भइसकेका थिए भने दोस्रो पाइलटको खोजीका लागि अमेरिका र इरान दुवै पक्ष सक्रिय थिए ।

तेहरानबाट रिपोर्ट गर्दै अल जजिराका पत्रकारले भनेका छन्, पाइलट उद्धारबारे इरानी पक्षले न त पुष्टि गरेको छ न अस्वीकार । ‘पछिल्लो २४ घण्टामा विमान खसेको क्षेत्रमा लगातार हवाई आक्रमण भइरहेको देखिएको छ’, ती पत्रकारले भनेका छन् ।

अर्को विमान पनि खसालिएको दाबी

यसैबीच, आइतबार इस्लामिक रेभुलनरी गार्ड कर्प्स (आईआरजीसी)ले हराइरहेका पाइलटको खोजीमा संलग्न अर्को अमेरिकी विमान इस्फाहानको दक्षिणी क्षेत्रमा खसालिएको दाबी गरेको छ ।

इरानी समाचार एजेन्सी फार्सले आफ्नो टेलिग्राम च्यानलमा धुवाँ उठिरहेको तस्वीर सार्वजनिक गर्दै यो ट्रम्पको ठूलो पराजय लुकाउने निराश प्रयास रहेको उल्लेख गरेको छ । यद्यपि खसेको भनिएको विमानबारे विस्तृत जानकारी भने दिइएको छैन। 

उद्धार अभियानमा दर्जनौं अमेरिकी सैन्य विमानहरू संलग्न थिए र इरानी पक्षबाट कडा प्रतिरोध भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्