
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र युद्ध अन्त्यका लागि भोलिसम्ममा एउटा सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताएका छन् ।
आइतबार फक्स न्युजसँगको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।
हाल दुई पक्षबीच वार्ता भइरहेको जानकारी दिँदै ट्रम्पले भने, 'अहिले वार्ता चलिरहेको छ। भोलिसम्ममा कुनै सम्झौता हुने राम्रो अवसर छ।'
यद्यपि, सम्झौता चाँडै हुन नसकेमा आफूले कडा कदम चाल्ने चेतावनी समेत उनले दिए । ट्रम्पले यदि वार्ताले चाँडै निकास पाउन सकेन भने आफूले इरानमा सबै कुरा ध्वस्त बनाउने र त्यहाँको तेल कब्जा गर्ने बारे पनि विचार गरिरहेको बताए ।
राष्ट्रपति ट्रम्पले वार्ताको प्रगतिप्रति आशा व्यक्त गरे पनि सम्झौता नभएको खण्डमा सैन्य र आर्थिक नियन्त्रणको कठोर मार्ग रोज्न सक्ने संकेत दिएका हुन् ।
यसअघि ट्रम्पले अप्रिल ६ भित्र होर्मुज स्ट्रेट नखोलिए इरानको नागरिक पूर्वाधारमा व्यापक क्षति पुर्याउने चेतावनी दिएका थिए।
फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि नै सामरिक रूपमा महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट इरानले बन्द गराएको छ। यसलाई खुलाउन ट्रम्पले पटक–पटक आफ्नो 'डेडलाइन' परिवर्तन गर्दै आएका छन् ।
मार्च २१ मा ट्रम्पले ४८ घण्टाभित्र जलमार्ग नखुले इरानका ठूला पावर प्लान्टहरू ध्वस्त पारिदिने पहिलो धम्की दिएका थिए। यसैगरी मार्च २३ मा दुई देशबीच सकारात्मक वार्ता भइरहेको भन्दै उनले सो आक्रमण ५ दिनका लागि स्थगित गरेका थिए ।
यसैगरी मार्च २७ मा इरानी सरकारको अनुरोधमा आक्रमणको समयसीमा थप १० दिन पछि सारेर अप्रिल ६ पुर्याइएको उनको भनाइ थियो ।
यही बीचमा शनिबार अप्रिल ६ को समयसीमा नजिकिएपछि ट्रम्पले ४८ घण्टाको अन्तिम चेतावनी दिँदै इरानमाथि सबै विपत्ति खसाल्ने चेतावनी दिए।
विश्वकै तेल आपूर्तिको महत्वपूर्ण हिस्सा ओगट्ने होर्मुज स्ट्रेट बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो असर परिरहेको छ।