
नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले मन्त्रीपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार बिदा दिइएको अवस्थामा अनावश्यक रूपमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरे । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन, जसरी भए पनि इन्धन खपत कम गर्नुपर्छ,” उनले भने, “यसमा जनताको पनि महत्वपूर्ण भूमिका हुन्छ ।”
उनका अनुसार हाल निगमले प्रतिलिटर करिब रु. १२० घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा सरकारको इन्धन खपत घटाउने उद्देश्यले गरिएको दुई दिन बिदाको निर्णय सकारात्मक भएको उनले बताए । उपभोक्तालाई अत्यावश्यक कामबाहेक इन्धन प्रयोग नगर्न समेत उनले आग्रह गरे ।
पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट बढ्दै गएपछि मन्त्रीपरिषद्को बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।