
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् ।
मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुँदै जाने बताए । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाइ छ । 'विगतमा पहुँच कम भएका विद्यालय/विश्वविद्यालयहरू बढी प्राथमिकतामा सरकारले राख्ने छ,' शिक्षामन्त्री पोखरेलले भने, 'आगामी पाँच वर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।'
मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
उनले भने, 'अबको पाँच वर्ष नेपालका लागि टेस्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्त्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।'